काठमाडौं : यतिबेला हलमा दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ प्रदर्शनरत छ। गत बिहीबारदेखि प्रदर्शनमा आएको फिल्मलाई दर्शकले औधी रुचाइरहेका छन्। फिल्मले हाउसफुल व्यापार गरिरहेको छ।
फिल्मका कलाकारहरु पनि यतिबेला हलहलमा पुगेर दर्शक भेटघाटमै व्यस्त छन्। दर्शकहरुले साथ दिएपछि हलहरुले पनि फिल्मको शो बढाएका छन्। देशमा मात्र नभएर विदेशमा समेत फिल्मले तहल्का पिटिरहेको छ।
भर्खरै मात्र जापानमा ‘पुजार सार्की’ गजब तरिकाले चल्यो। जापानको एकै शोमा २२ सय बढी दर्शकहरुको उपस्तिथि थियो। जहाँ अभिनेता पल शाह पनि पुगेका थिए। पललाई जापानमा भव्य स्वागत समेत गरिएको थियो। जुन भिडियो यतिबेला सामाजिक संजालमा चर्चित बनिरहेको छ। जापानको शो सकेपछि पल सोमबार नेपाल फर्किएका थिए। नेपाल फर्किए लगत्तै पल मंगलबार दिनभरजसो काठमाडौंका विभिन्न हलहरुमा पुगेर दर्शकहरुसँग भेटघाट गर्दै साक्षात्कार समेत गरे।
मंगलबार दिनभर हलहरु हाउसफुल त थिए नै, राति पनि कतिपय हलमा ‘पुजार सार्की’का शोहरु हाउसफुल भए। काठमाडौंको एफक्यूव सिनेमाजमा मंगलबार ८ वटा शोहरु थिए। जसमध्ये एउटा राति १०:१५ बजेको शो पनि थियो। जुन शो रातिको १२:४५ बजे सकिएको थियो। यस्तो रातिको समयमा पनि उक्त शो हाउसफुल थियो।
रातिको शो समेत हाउसफुल भएपछि ‘पुजार सार्की’ टिम मध्यरातमा एफक्यूब सिनेमाजमा पुगेको थियो। कलाकारको प्रतिनिधित्व गर्दै रातिको समयमा पल एफक्यूब पुगेका थिए। उनी फिल्म सकिएपछि १२:४५ मा हल भित्र छिरेका थिए। जहाँ पललाई देख्ने बित्तिकै दर्शकहरुको हुटिङ र ताली एकैपटक आएको थियो। एक्कासि रातको समयमा पललाई हलमा देख्दा सबै दर्शक आश्चर्यमा परेका थिए।
रातिमा निन्द्रा अनि थकानको प्रवाह नगरि फिल्म हेर्न आउने दर्शकहरुसँग पलले पनि पालैपालो तस्वीर खिचाए।अधिकांश दर्शकले सेल्फी लिए। सेल्फी लिँदै दर्शकहरुले फिल्ममा रहेको पलको क्यारेक्टर नाम ‘मेघे’ भन्दै जिस्काउन समेत भ्याए। यतिमात्र कहाँ होर ‘पल शाह जिन्दावाद, मेघराज जिन्दावाद’ भन्दै दर्शकहरुले हलमै नारा समेत लगाए।
दर्शकहरुको अथाह माया पाउँदा पल पनि दंग देखिन्थे। उनी सवा १ बजेसम्म दर्शकहरु पलसँग सेल्फी लिनमै व्यस्त थिए। करिब २ वर्षपछि हलमा दर्शकहरुसँग प्रत्यक्ष साक्षात्कार गर्न पाएका पल निकै खुशी छन्। फिल्ममा उनको क्यारेक्टरलाई दर्शकले धेरै रुचाएका छन्। पलका अलावा निर्देशक दिनेश राउत, वितरक रोहित कट्टेल, मिडिया संयोजक जीवन पराजुली, पोस्टर तथा पब्लिसिटी डिजाइनर रोयल भिमसेन लगायतको टिम पनि मध्यरातमा एफक्यूब पुगेको थियो।