नेपालगन्ज : हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले यतिबेला देशभर दर्शकको राम्रो साथ पाइरहेको छ। हिजो शुक्रबार भन्दा आज शनिबार देशभरका विभिन्न हलमा फिल्म हाउसफुल पनि भयो।
यता नेपालगन्जमा पनि फिल्म हेर्न आउने दर्शकको संख्या ह्वात्तै बढेको छ। दर्शकको चाप बढेपछि नेपालगन्जको सिने रोयलमा आज मध्यरातको शो पनि थपिएको छ। सिने रोयलमा ‘ह्रस्व दीर्घ’लाई शनिबार दिनभर ४ वटा शोहरु दिइएको थियो। तर फिल्म हेर्न चाहने दर्शकहरु बढेपछि आज रातिको ११:४५ को शो थपिएको बताइएको छ।
यसरी रातिको शो थपिएको सिने रोयलका लागि पहिलो इतिहास हो। यसभन्दा अघि यसरी मध्यरातको शो चलाएको अनुभव नभएको सिने रोयलका सिओओ रितेश श्रेष्ठले बताए।
यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्।
नीता ढुंगानाको निर्माणमा तयार भएको फिल्ममा हरिहर अधिकारीको कथा छ। हरिहर अधिकारी, नीता ढुंगाना अधिकारी, प्रदीप राउत, ब्रम्मानन्दम, विपना थापा, सुनिल वर्मा, मोहमद वली, कविर दुहान, रेखा थापा, सरोज खनाल, संचिता लुइँटेल, किरण केसी, रविन्द्र झा, वुद्दि तामाङ, निर्मल शर्मा लगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेको छ।