नेपाली चलचित्रकी सुन्दरी अभिनेत्रीको रुपमा चिनिएकी स्वस्तिमा खड्का शनिवारबाट २५ वर्षमा लागेकी छन् । सन् २०१५ मा प्रदर्शनमा आएको चलचित्र ‘होस्टल रिर्टन्स’ बाट अभिनय करिअर सुरुवात गरेकी उनको जन्म २०५२ साल असार २० गते काठमाडौंमा भएको थियो । उनलाई जन्मदिनको अवसरमा चलचित्रकर्मी तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालको माध्यमबाट शुभकामना दिइरहेका छन् ।
शनिवार साँझको १२ बजे उनलाई श्रीमान् निश्चत बस्नेतले फेसबुकमार्फत् जन्मदिनको शुभकामना दिएका थिए । निश्चलसँग उनले सन् २०१६ मा लगनगाँठो कसेकी थिइन् । ‘होस्टल रिर्टन्स’ बाट अभिनय करिअर थालनी गरे पनि उनलाई चलचित्र ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ गीतले लोकप्रियता दिलाएको थियो । त्यस्तै, चलचित्र ‘छक्का पञ्जा २’ ले उनलाई अभिनेत्रीको रुपमा स्थापित गर्यो ।
चलचित्र ‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा’ बोलको गीतमा समेत ठुम्का लगाएकी स्वस्तिमाले ५ वर्षे चलचित्र करिअरमा आधा दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । ‘लभ लभ लभ’, ‘जय भोले’, ‘नाईं नभन्नू ल ५’, ‘घामड शेरे’, ‘हजार जूनीसम्म’ लगायतका चलचित्रमा लिड अभिनेत्रीको रुपमा अभिनय कौशल प्रस्तुत गरेकी उनको करिअरको उम्दा चलचित्रको रुपमा ‘बुलबुल’ लाई लिइन्छ ।
यसमा स्वस्तिमाले एक टेम्पो चालक (विवाहित महिला) को भूमिका निर्वाहा गरेकी थिइन् । यो चलचित्रबाट उनले राष्ट्रिय अवार्डसहित विभिन्न अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी थिइन् । यसअघि उनलाई कुनै चलचित्रले अवार्ड दिलाउन सकेका थिएनन् । चलचित्र ‘बुलबुल’ बाट आफूलाई उम्दा अभिनय गर्ने अभिनेत्रीको रुपमा उभ्याएकी उनको पछिल्लो रिलिज चलचित्र ‘घामड शेरे’ हो ।
छोटो समयमा लोभलाग्दो ‘नेम र फ्रेम’ कमाएकी स्वस्तिमा चलचित्रमा मात्रै सीमित छैनन् । म्यूजिक भिडियो र विज्ञापनहरुमा पनि उनको राम्रो माग छ । एक चलचित्रका लागि ५/७ लाखसम्म पारिश्रमिक बुझ्ने गरेकी उनी चाँडै एक अमेरिकन टोलीले निर्माण गर्न लागेको अंग्रेजी चलचित्रमा अभिनय गर्दैछिन् । त्यस्तै, उनी अभिनीत नयाँ चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनको तयारीमा छ ।