काठमाडौं : आज शुक्रबार दिनभर हिन्दु नारीहरुले हरितालिका तीज मनाए। जुनक्रम आज रातभर पनि जारी रहनेछ। विभिन्न स्थानमा तीज गीतहरू बजाएर महिला दिदिबहिनीहरु नाचेको शुक्रबार दिनभर देख्न सकिन्थ्यो। दिदिबहिनीहरुले अन्य गीतसँगै ‘मै छोरीलाई गाह्रो भो’ गीत बजाएर पनि खुब नाचेँ।
यो गीत यसै वर्ष सार्वजनिक भएको तीज गीत हो। जुन गीतमा गायिका सिमा नेपालीको स्वर रहेको छ। गीतका शब्द अर्जुन सुवेदीले लेखेका हुन्। गीतको भाका भने संगीतकार खेम पुनले तयार पारेका हुन्। गीतमा नारीले पाएको पीडालाई समावेश गरिएको छ।
गीतका शब्दहरु निकै मनछुने छन्। गीतका शब्दहरुलाई न्याय गर्ने भाका छ गीतमा। भाका निकै मौलिक छ। त्यसैले पनि होला यो वर्ष गीतलाई निकै रुचाइयो। टिकटकमा पनि हजारौं भिडियो बनेका छन्। युट्युवमा भने हालसम्म ५ लाख ३३ हजारबढी भ्युज छ। तर प्रतिक्रिया भने निकै उत्कृष्ट र सकारात्मक छन्।
भिडियोमा निहारिका थापाको उत्कृष्ट अभिनय छ। स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन, करण चैसीरको छायांकन र मनोज कार्कीको सम्पादन छ। गीत विध्यबासीनी म्युजिक कम्पनी मार्फत बजारमा आएको हो। गीतका निर्माता सुवास रेग्मी हुन्।
गीतको अडियोले निकै तारिफ पाएको थियो। उसो त भिडियोलाई पनि धेरैले तारिफ गरेका थिए। समग्रमा अडियो/भिडियो नै उत्कृष्ट बनेको प्रतिक्रिया अधिकांशले दिएका छन्।
गीतको मेलोडीलाई लिएर व्यक्तिगत म्यासेज मार्फत सकारात्मक प्रतिक्रिया पाएको संगीतकार पुन बताउँछन्। उसो त उनी थोरै तर गुणस्तरीय गीत सृजना गर्न रुचाउँछन्। त्यसैक्रममा ‘मै छोरीलाई गाह्रो भो’को भाका तयार पारेका थिए उनले।
यो गीतपछि अझै मिहेनत गरेर आगामी दिनमा नयाँ अब्बल सृजना ल्याउने उनले बताएका छन्। शुक्रबार बिहानै गीतको युट्युब लिंक आफ्नो सामाजिक संजाल फेसबुकमा सेयर गर्दै उनले यो गीत राम्रो भएको बताए।
‘आगामी दिनमा थप मिहेनत गरेर थप सृजना ल्याउने छौँ’, उनले फेसबुकमा लेखेका छन्, ‘यो गीत अत्यन्त राम्रो छ। त्यसकारण भविष्यमा नयाँ दर्शक र स्रोताको मन जित्ने अपेक्षा लिएको छु।’ उनले यो वर्ष ‘मै छोरीलाई गाह्रो भो’ तीज गीतलाई रुचाएर माया गरेकोमा सम्पूर्ण दर्शक/स्रोतालाई आभार समेत प्रकट गरेका छन्।