नेपालगन्ज : बहुप्रतिक्षित फिल्म ‘ह्रस्व दीर्घ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिन नै देशका अधिकांश हलहरुमा फिल्मका शोहरु हाउसफुल भएका छन्।
फिल्म मन परेको भन्दै अधिकांश दर्शकहरुले निकै राम्रो प्रतिक्रिया पनि दिइरहेका छन्। यस्तै फिल्मले नेपालगन्जमा समेत पहिलो दिन दर्शकको राम्रो साथ पायो। फिल्मलाई नेपालगन्जको सिने रोयलमा ४ शो र क्युएफएक्ज बागेश्वरीमा ३ शो दिइएको थियो। जसमध्ये सिने रोयलमा पहिलो शो नै हाउसफुल हुन सफल भयो।
त्यस्तै,सिने रोयलमै आजको दोस्रो र तेस्रो शो’मा लगभग ८० प्रतिशत अकुपेन्सी रहेको थियो। फिल्मलाई दिइएको चौथो शो भने हाउसफुल भयो। पहिलो दिन मै सिने रोयलमा दर्शकहरुको राम्रो साथ मिल्यो। साउथ फिल्म हेरेको जस्तै आभाष भयो भन्दै दर्शकहरुले प्रतिक्रिया दिएका थिए।
पहिलो दिनमा दर्शकहरूको उपस्तिथिलाई नियाल्दा भोलि शनिबार दिनभरका शोहरु हाउसफुल हुने अपेक्षा गरिएको सिने रोयलका सिओओ रितेश श्रेष्ठले बताए।
सिने रोयलमा भोलि शनिबार ‘ह्रस्व दीर्घ’लाई ४ शो दिइएको छ। दर्शकहरुको उपस्तिथि बढ्दै गए शो थपिने हल टिमले जनाएको छ। शनिबारको पहिलो शो पनि हाउसफुलको नजिक रहेको छ।
नीता ढुंगानाको निर्माणमा तयार भएको फिल्ममा हरिहर अधिकारीको कथा छ। हरिहर अधिकारी, नीता ढुंगाना अधिकारी, प्रदीप राउत, ब्रम्मानन्दम, विपना थापा, सुनिल वर्मा, मोहमद वली, कविर दुहान, रेखा थापा, सरोज खनाल, संचिता लुइँटेल, किरण केसी, रविन्द्र झा, वुद्दि तामाङ, निर्मल शर्मा लगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेको छ।