काठमाडौं : आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पुजार सार्की’को टिम यतिबेला प्रचारप्रसारमै व्यस्त छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले विभिन्न शैलीमा फिल्मको प्रचारप्रसार गरिरहेको छ।
शनिबार मात्रै फिल्मको टिम ललितपुरको ग्वार्को स्थित क्वेस्ट इन्टरनेशनल कलेजमा पुगेको थियो। क्वेस्ट कलेजले शनिबार आयोजना गरेको ‘१२ औं क्वेस्ट म्युजिक एण्ड फुड फेस्टिवल’मा अतिथिको रुपमा ‘पुजार सार्की’ टिमलाई बोलाइएको थियो।
फिल्मको तर्फबाट निर्देशक दिनेश राउत, अभिनेता आर्यन सिग्देल, अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बू, पोस्टर तथा पब्लिसिटी डिजाइनर रोयल भिमसेन, मिडिया योजना तथा समन्वयकर्ता जीवन पराजुली लगायतको टिम उक्त फेस्टिवलमा पुगेको थियो।
जब कलाकारहरु स्टेजमा उक्लिए तब विद्यार्थीहरुले हुटिङ र तालीले स्वागत गरे। आर्यनले पुजार सार्कीको प्रदर्शन मिति सोध्दै विद्यार्थीहरु तर्फ माइक तेस्राएका थिए।विद्यार्थीहरुले पनि एकै स्वरमा ‘जेठ १० पुजार सार्की’ भन्दै हुटिङ गरेका थिए। फिल्मको ‘दर्शन गरेँ’ गीत बज्दा त विद्यार्थीहरुले कम्मर पनि मर्काएका थिए।
आर्यन, अन्जना र परीक्षा स्टेजबाट झरेर विद्यार्थीमाझ जाँदा त सेल्फी खिच्नेहरुको भिड लागेको थियो। कलाकारहरुले पनि विद्यार्थीहरुको मोबाइल लिएर आफैले सेल्फी लिएका थिए। मुस्काउँदै विद्यार्थीहरुले तस्वीर पनि खिचाएका थिए। धेरै विद्यार्थीहरुले त अटोग्राफ पनि लिन चाहेका थिए। थोरै समय भएपनि कलाकारहरुसँग विद्यार्थीहरु रमाएका थिए।