
नेपालगन्ज : आगामी भदौ १२ गते प्रदर्शन हुन लागेको चलचित्र ‘कोशेढुङ्गा’ को ट्रेलर सार्वजनिक भएपछि यसको प्रचारप्रसारले तीव्रता पाएको छ। विशेषगरी नेपालगन्जमा १०० भन्दा बढी इ-रिक्सामा ब्यानर राखेर यसको प्रचार भइरहेको छ। जसले गर्दा नेपालगन्जका दर्शकहरूमा उत्सुकता पैदा गरेको छ।
‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो सफल चलचित्र निर्देशन गरेका सरोज पौडेलले यस चलचित्रलाई निर्देशन गरेका हुन्। निर्देशक पौडेलका अनुसार, ‘कोसेढुंगा’ नेपालसहित अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, क्यानडा लगायत ४० भन्दा बढी देशमा पनि प्रदर्शन हुनेछ।

पश्चिमका तीन प्रदेश (कर्णाली, सुदूरपश्चिम र लुम्बिनी) मा प्रचारको जिम्मा पाएका अनलाइन टेलिभिजन पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णराज अधिकारीले मुख्य सहरहरूमा प्रत्यक्ष रूपमा प्रचार कार्य भइरहेको बताएका छन्।
नरदेवी फिल्मसको प्रस्तुतिमा बनेको यस चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ। किशोर अनुराग र प्रेबिल कँडेल यस चलचित्रका निर्माता हुन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन्।




