‘कोशेढुंगा’ : सुर्खेतमा ऐतिहासिक प्रचार, पहिलोपटक सयौं रिक्सामा फिल्मको ब्यानर

सुर्खेत: आगामी भाद्र १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कोशेढुङ्गा’ ले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएको छ। फिल्मको निर्माण टिमले राजधानीलगायत देशका विभिन्न सहरमा फरक-फरक शैलीमा प्रचार गरिरहेको छ।

यसै क्रममा, फिल्मले सुर्खेतमा भने प्रचारको एक नौलो इतिहास रचेको छ। सुर्खेतमा पहिलोपटक कुनै फिल्मको प्रचारप्रसारका लागि सयौं रिक्सामा फिल्मको आकर्षक ब्यानर राखेर सहरभरि घुमाइएको छ। यसरी रिक्सामा ब्यानर राखेर गरिएको प्रचार शैलीलाई दर्शकहरूले निकै चाखलाग्दो र आकर्षक मानेका छन्।

‘कोशेढुङ्गा’ का लुम्बिनी, कर्णाली र सुदूरपश्चिम मिडिया कोअर्डिनेटर कृष्णराज अधिकारीले यस किसिमको प्रचारप्रसार सुर्खेतमा पहिलोपटक गरिएको बताएका छन्।

उनले पश्चिम नेपालमा नेपाली फिल्मको राम्रो क्रेज रहेको र त्यसलाई अझै बढाउन यो अभियान सुरु गरेको जानकारी दिए।अधिकारीले सुर्खेतका साथै नेपालगञ्ज, दाङ, धनगढी र बुटवलमा पनि यसैगरी व्यापक प्रचार गर्ने योजना रहेको बताए।

निर्माण टिमले नेपाली फिल्मको प्रवर्द्धनमा ‘कोशेढुङ्गा’ लाई ‘कोसेढुङ्गा’ साबित गर्ने उद्देश्यले ठूलो खर्च र तयारीसहित रिक्सामा फिल्मको प्रचार गरिएको बताएको छ। यो फिल्म नेपालसहित ४३ देशमा एकसाथ प्रदर्शन हुँदैछ।

प्रतिक्रिया

TOP