काठमाडौं : प्रतीक्षित नेपाली फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक भएको छ। छठ पर्वको अवसर पारेर निर्माण टिमले सोमबार सार्वजनिक गरेको टिजरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा दमदार रूपमा प्रस्तुत गरिएको छ।
टिजरमा देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले देश परिवर्तनको नेतृत्व लिनुपर्ने सशक्त सन्देश बोकिएको छ।
उच्चस्तरको एक्सन र निर्माण क्वालिटीले टिजरलाई आकर्षक बनाएको छ। निर्माता दीपक शिवाकोटीले ‘अबको परिवर्तन युवाबाटै सम्भव छ’ भन्ने सन्देश फिल्मले समाजमा चेतना जगाउने विश्वास व्यक्त गरेका छन्।
टिजरमा अभिनेत्री अन्जना बराइली इन्सपेक्टरको भुमिकामा देखा परेकी छिन्। फिल्ममा उनी एक इमानदार प्रहरीको भुमिकामा रहेको बताइएको छ।
फिल्मलाई विजय केरुङले निर्देशन गरेका हुन्।
शिवम् अधिकारीको लेखन, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा सुशील र अन्जनासँगै सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, बुद्धि तामाङ लगायतका कलाकारहरूको मुख्य भूमिका छ। ‘परिवर्तन’ आगामी माघ ९ गते बाट देशभर प्रदर्शनमा आउनेछ।
