‘पलकै मायाले मैले बयान फिर्ता लिएकी हुँ’- समीक्षा अधिकारी

काठमाडौं : आफ्नो जीवनमा घटेको एक घटनाका कारण झन्डै डेढ वर्षसम्म मिडियामा देखा नपरेकी गायिका समीक्षा अधिकारी अन्ततः मिडियामा आएकी छिन्। मिडियामा आएलगत्तै समिक्षाले दिएका अभिव्यक्तिले यतिबेला तरंग मच्चाएको छ। शनिबार एपिवान टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा समिक्षाले आफ्नो र पल शाहको बारेमा खुलेर बोलेकी छिन्।

यतिसम्मकी समिक्षाले सम्पुर्ण कुरा खुलासा गरेकी छिन्। पल शाहको माया लागेरै अदालतमा बयान फेरेको समिक्षाले बताएकी छिन्। आफुले पललाई माया असाध्यै माया गर्ने र माया गर्ने मान्छेलाई खराब हालतमा देख्न नसकेको भन्दै बयान फेरेको समिक्षाको भनाइ छ।

उक्त कार्यक्रमका होस्ट प्रकाश सुवेदीले समिक्षालाई सोधेका छन् – ‘कहिकतै केही सम्झौता भयो ? कहिकतै लेनदेन भयो ? या केही कुरामा एग्रीमेन्ट भयो ? आखिर के भएर हो त्यो घटनाले किनारा पायो ?’ यस् प्रश्नमा समिक्षाले जवाफ दिँदै भनेकी छिन् – ‘बाहिर त हल्ला जे पनि चल्छ। हल्लाकै भरमा त्यो सत्य भन्ने चाहिँ हुँदैन। त्यस्तो भन्दा नि मेन त उहाँ (पल)कै माया लागेर हो बयान फेरेको।

सुरुमा पललाई मुद्दा हाल्दा पनि विभिन्न कारणहरुले बाध्य पारेको समिक्षाको दावी छ। त्यतिकै गएर आफुले पलका विरुद्ध मुद्दा नहालेको र आफुलाई मार्ने, सिध्याइदिने जस्ता धम्की डर पल शाहकै टिमबाट आएपछि बाध्य भएर मुद्दा हालेको समिक्षाले खुलाइन्।

‘त्यतिबेला दिनमा मेरो ४/४ वटा गीतको रेकर्ड हुन्थ्यो’, समिक्षाले उक्त घटनाताकाको समय सम्झिँदै भनिन् , ‘त्यतिबेला चाहिँ मलाई टचर दिने,त्यही भएर म २/३ महिना घरमा गएर बसेँ। डिप्रेसनमा थिएँ त्यो टाइममा। धम्की दिने यताउती गर्नुहुन्थ्यो। त्यो भएपछि चाहिँ आफ्नो सेफ्टीको लागि त्यो डिसिजन गर्‍या हो। मलाई थाहा थिएन त्यो केसले यति ठूलो रुप लिन्छ भनेर। यत्ति हो कि म चाहिँ गलत छैन।’

आफू सँग कुनै अप्सन नभएको र पलको एकदम माया लागेको भएर नै कसैको उक्साहटमा नभई आफैले बयान फेरेको कुरा समिक्षाले प्रकाश सुवेदीको शोमा गरेकी छिन्। बयान फेर्नु कानुनी रुपमा गलत भएपनि सोही गलतकै कारण पल शाह जेलबाट निस्किन सफल भएको उनको दाबी छ।

मायाले नै यो सब भएको समीक्षा बताउँछिन्। त्यो समयमा पलले पनि माया गर्ने र आफुले पनि असाध्यै माया गर्नेगरेको उनले बताइन्। पल जेल हुँदा अदालतमा भेट हुने गरेको पनि उनले खुलाएकी छिन्। आफ्नो जीवनमा घटेको घटनाको वास्तविकता पल र आफुलाई थाहा भएको पनि उनको तर्क छ।

पल जेलबाट निस्केको समयमा पलकै मायाले गर्दा समिक्षाले बयान फेरेको हल्ला बजारमा निकै चलेको थियो। कतिपयले झुठो हो भने, कतिपयले पत्याए पनि। अन्ततः उक्त कुरा सत्य रहेको समिक्षाकै मुखबाट सुन्न पाइयो।’मायामा अथाह शक्ति छ, जे पनि गर्न सकिन्छ’- भन्ने कुराको ज्वलन्त उदाहरण समीक्षा बनेकी छिन्।

पलसँग भन्दा पनि पलको टिमसँग औधी गुनासो छ समिक्षाको। पलका म्यानेजर कृष्ण जोसीलाई त कहिल्यै माफ गर्न नसक्ने उनी बताउँछिन्। उक्त घटनामा कृष्णले आफुलाई निकै रुवाएको उनले बताइन्। पल र समिक्षाको प्रेमचर्चाकै बीच उक्त घटना घटेको थियो।

समिक्षाले जबर्जस्ति करणीमा पल विरुद्ध मुद्दा हालेकी थिइन्। र पल एक वर्षसम्म जेल बसे। समिक्षाका अनुसार अन्ततः उनले नै बयान फेरेपछि पल जेलमुक्त भए। जेलबाट बाहिर निस्केपछि आफ्नो भेट नभएको समिक्षाले बताइन्। तर पनि माया गरेको मान्छे भएको भएर पलको अझै माया लाग्ने समिक्षाको भनाइ छ।

यता पलले भने घटनाबारे कुनैपनि कुरा कतै बोलेका छैनन्। जेलबाट निस्केपछि चाहिँ घटनासँग जोडिएको व्यक्तिलाई कुनै पनि गाली नगर्न आफ्ना फ्यानलाई आग्रह गर्दै एउटा स्टाटस चाहिँ लेखेका थिए। त्यसपछि पल घटनाको बारेमा केही पनि बोलेका छैनन्।

आफुमाथि उक्त घटना घट्दा धेरैपटक आत्महत्या गर्ने कोसिस गरेको तर आफू बलियो हुनुपर्छ भन्ने आँट बटुल्दै अगाडि बढेको समिक्षाले बताइन्। उक्त समयमा आफ्नो परिवारले एकदम साथ दिएको उनले बताइन्। साथै, नायिका स्वस्तिमा खड्का,संगीतकार अर्जुन पोखरेलले पनि ठूलो साथ दिएको समिक्षाले बताउँछिन्। तर पनि समिक्षालाई बहादुरी र सहाशी युवतीको रुपमा धेरैले हेर्ने गरेका छन्।

यद्यपि उनलाई सुरुसुरुमा भने अध्याधिक नकारात्मक कमेन्टहरु आउने गर्थे। जसले गर्दा समिक्षालाई पिडामाथि झन् पीडा हुन्थ्यो। एकातिर आफुले माया गरेको मान्छेलाई आफैले जेल पुर्‍याएको पीडा, अर्कोतर्फ विभिन्न गालीगलौजले सहनै नसकिने पीडा। यि दुई पिडामा रुमलिएकी समिक्षाको मायाले नै अन्तिममा जितेको पाइन्छ।

जे होस्,गायिका समीक्षा अधिकारीको जीवनमा निकै उतारचढाव आयो। आफ्नो जीवनमा घटेको ठूलो घटनाबाट बिक्षिप्द पनि बनिन् समीक्षा। सोही घटनाका कारण लामो समय डिप्रेसनको सिकार पनि बनिन्। अझै पनि गाली नरोकिएपछि सत्यकुरा सबैमाझ सुनाउनको लागि प्रकाश सुवेदीको शोमा गएको उनले बताइन्।

शनिबार शो प्रसारित भएर युट्युबमा सार्वजनिक भएपछि उक्त कार्यक्रमको लिंक सेयर गर्दै समिक्षाले एउटा लामो स्टाटस समेत लेखेकी छिन्। जुन स्टाटसमा उनले आफ्नो पीडा समेत पोखेकी छिन्।
कसैले आएर आफुलाईई कहिल्यै सोध्न नचाहेको र सत्य कुरा केहो कसैले बुझ्न नै नचाहेको गुनासो समिक्षाले स्टाटसमा पोखेकी छिन्।

‘मात्र मेरो बारेमा काल्पनिक कथाहरु बनाइयो, चलचित्रका कथा झैँ हजार कथाहरु बुनियो’, समिक्षाले लेखेकी छिन् , ‘सत्य कुरा बाहिर ल्याउने कसैले प्रयास नै गरेन मात्र मलाई नै गलत देखाइयो। मलाई बोल्न नि दिइएन, बोल्ने वातावरण नि बनेन। मैले जे भोगे त्यो मलाई नै थाहा छ। छोटो समयको मेरो जिन्दगीको त्यो भोगाइ मैले सुनाए भने चलचित्र मात्र हैन उपन्यास नै बन्छ।’

समिक्षाले दर्शक स्रोताबाट पुनः माया पाउने अपेक्षा गरेकी छिन्। जे जस्तो भएपनि माया गरिदिन उनको आग्रह छ। ‘फ़ेरि त्यही मायाको आसा राख्दछु’, उनी भन्छिन् , ‘मात्र एउटै सपना छ भोलि देशको नामलाई बिदेश सम्म चिनाउन सकु । खुट्टा तान्नेहरु त अझपनी छन् सायद रहिरहन्छन तर हौसला दिनेहरु पनि धेरै हुनुहुन्छ । सबैलाई हृदय देखि नै नमन गर्दै भोलिका दिनहरु सबैको राम्रो होस । आसा छ अब मलाई बुझिदिनु हुनेछ।’

विस्तारै अब समीक्षा सांगीतिक क्षेत्रमा कसिलो तरिकाले अगाडि बढ्ने तयारीमा छिन्। केही हप्ता अघि मात्रै झन्डै डेढ महिनापछि समीक्षा अष्ट्रेलियाबाट फर्केकी थिइन्। उनी अष्ट्रेलियाका केही कार्यक्रम सकाएर नेपाल फर्किएकी हुन्। हाल कक्षा १२ को परिक्षाको तयारीमा रहेकी समिक्षाको आफ्नो आवाजमा नयाँ नयाँ गीत बजारमा छिट्टै ल्याउने योजना रहेको छ।

प्रतिक्रिया

TOP