ज्ञानु संगम खड्का/नेपालगन्ज : नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा यो वर्ष गत वर्ष झैँ धेरै मात्रामा तीजका गीतहरु बजारमा आएनन् । जसको एक मात्र कारण हो, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९।
कोरोना अनि लकडाउनका कारण यस वर्ष सिमित मात्रामा तीज गीत सार्वजनिक भइरहेका छन् । गत वर्ष भन्दा यस वर्ष युवा पुस्तालाई लक्षित गर्दै तीज गीत धेरै निस्किए। यसै क्रममा युवा वर्गलाई नै लक्षित गर्दै सार्बजनिक भएको गीत हो “घरको छतमा” ।
रक प्याटर्नको यो गीत यतिबेला चर्चामा छ। युटुबमा पनि ट्रेन्डिङमा पर्न सफल भएको छ। एलिना चौहान र मनिष श्रेष्ठको आवाज रहेको यस गीतमा केशव थापाको शब्द र मनिष श्रेष्ठको संगीत रहेको छ। गीतका एरेन्जर भने जीवन बडु हुन् ।
यो गीत झट्ट सुन्दा म्युजिक एरेन्जर अलि पाको उमेरेको हुन् कि भन्ने महसुस हुन्छ। तर वास्तविकता भने फरक छ। म्युजिक एरेन्जर चाहिँ पछिल्लो समयका व्यस्त अनि चर्चित युवा एरेन्जर जीवन बडु हुन् । बहुप्रतिभाका खानी जीवन एरेन्जरसंगै एउटा राम्रो गायक अनि मोडल पनि हुन् ।
पश्चिम कंचनपुरका जीवन चर्चित म्युजिक एरेन्जर भुवन बडुका छोरा हुन् । बुवा भुवन जत्तिकै प्रतिभा भएका जीवन नयाँ पुस्ताका सबै खाले गीतसंगीतहरुको म्युजिक एरेन्ज गर्न र गाउन निपुण छन् ।

उनका बुवा भुवन बडु पनि विगत लामो समयदेखि म्युजिक एरेन्जमै व्यस्त छन् । बरिस्ठ लोक गायक तथा सन्चारकर्मी कमल निर्मोहीद्वारा संचालित नेपालगन्जको वेभ मल्टिट्र्याक डिजिटल रेकर्डिङ स्टुडियोमा मुख्य म्युजिक एरेन्जरको रुपमा काम सुरु गरेका भुवन यतिबेला काठमाडौंको अनामनगरमा विग परिवेश एचडी रेकर्डिङ स्टुडियो सन्चालन गरिरहेका छन् । जसको शाखा भारतको मुम्बईमा पनि रहेको छ।
बुवाबाट प्रभावित जीवन पनि सांगीतिक क्षेत्रको नक्षत्र तारा हुन् । दिनप्रतिदिन नयाँ गीतहरूको म्युजिक एरेन्जमा व्यस्त उनी विगत एक दशकदेखि नियमित सांगीतिक क्षेत्रमै क्रियाशिल छन् । हालसम्म जीवनले हजारौं गीतहरुमा म्युजिक एरेन्ज गरिसकेका छन् । उनको एरेन्जमा रहेका गीतहरू पछिल्लो समय ब्याक टु ब्याक युटुब ट्रेन्डिङमा पनि पर्दै आएका छन् ।
प्रतिक्रिया