संगीतासँग बिहे गर्दै थिए सलमान, तर किन रोकियो ?

९ जुलाई १९६५ मा मुम्बईमा जन्मिएकी बलिउड अभिनेत्री तथा मोडल संगीता बिजलानी बिहीवार ५५औं जन्मदिन मनाउँदैछिन् । एक समय उनी अभिनेता सलमान खानको प्रेममा थिइन् । उनीहरु बैबाहिक जीवनमा समेत बाँधिने तयारीमा थिए ।

अन्तिममा संगीताले सलमानसँग विवाह गर्न अस्वीकार गरिन् । इन्डिया टुडेका अनुसार, २७ मे १९९४ मा उनीहरुको विवाह हुँदै थियो ।  सलमान र संगीताको पहिलो भेट सन् १९८६ मा भएको थियो । यसपछि उनीहरुबीच व्यवसायिक सहकार्य सुरु भएको थियो ।

सन् १९९३ मा एक अन्तर्वार्तामा सलमानले आफू संगीतासँग विवाह गर्न लागेको खुलाएका थिए । निर्देशक करण जोहरको पपुलर च्याट शो ‘कफी विद करण’ मा सलमान खानले यो स्वीकार गरेका थिए कि संगीतासँग विवाहका लागि कार्ड समेत छापिसकेको छ ।  सलमानको परिवार संगीतालाई बुहारीको रुपमा घर भित्राउन तयार थियो ।

तर, संगीताको परिवार दोधारमा थियो । दुईको विवाहको तयारी जोरसोरले चलिरहेको समयमा संगीतालाई थाहा भयो कि सलमानको अभिनेत्री सोमी अलीसँग अफेयर चलिरहेको छ । यसपछि उनले विवाह गर्न अस्वीकार गरिन् । सलमानले आफूलाई धोका दिएको थाहा पाएपछि संगीता निकै टुटेकी थिइन् ।  सलमानसँग विवाह नगर्ने निर्णय लिएपछि संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग सन् १९९६ मा विवाह गरिन् ।

अजहरुद्दीन त्यसबेला विवाहित थिए र उनका दुई छोरा पनि थिए । संगीताका लागि उनले पहिलो श्रीमतीलाई डिभोर्स दिएका थिए । बैबाहिक जीवनमा बाँधिएको १४ वर्षपछि अर्थात् २०१० मा संगीता र मोहम्मदको सम्बन्ध विक्षेद भयो । यसपछि संगीता सिंगल छिन् । 

प्रतिक्रिया

TOP