संसारभर महामारीको रुपमा रहेको कोरोना भाइरसले नेपाललाई पनि थिलथिलो बनाएको छ । अर्थतन्त्र देखि मानव जिबनमा समेत यसले चुनौती दिएको छ ।यसबाट देशका हरेक क्षेत्र प्रभावित छन् । दिन-प्रतिदिन संक्रमितको संख्या बढ्दो छ ।
नियन्त्रणभन्दा बाहिर गइरहेको संक्रमणका कारण मानिसहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न हुन थालेको छ । भय र त्रासको यो समयमा पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु भने रातदिन नभनि खटिरहेका छन् । शनिवार बानेश्वरको एक होस्टेलमा सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरू बसेको थाहा पाएपछि कोरोना फैलिने भन्दै त्यहाँका स्थानीयहरुले विरोध गरे ।
अहिले सामाजिक सञ्जालमा उक्त घटना अमानवीय र असभ्य भएको भन्दै व्यापक टिका-टिप्पणी र आलोचना भइरहेको छ । नेपाली फिल्मकर्मीहरुले पनि स्वास्थ्यकर्मीमाथि भएको त्यसप्रकारको दुर्व्यवहारको निन्दा गरेका छन् ।
अभिनेत्री वर्षा सिवाकोटीले संक्रमितको स्याहारमा खटिएका डाक्टर तथा नर्सलाई टोलछिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृति अशोभनीय रहेको बताएकी छन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै यो कठिन समयमा फ्रन्ट लाइनमा रहेर काम गर्नेलाई सम्मान गर्न आग्रह गरेकी छन् । मानवताको नाताले भए पनि अहिले एकअर्कालाई साथ र सहयोग गर्न उनको अपिल छ ।
वर्षाले लेखेकी छन्, ‘यस समयमा आफू र आफ्नालाई सुरक्षित राख्नु पर्ने त छँदैछ । साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिनु हुने सम्पूर्ण डाक्टर, नर्स, मेडिकल क्षेत्रका सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मूल्यांकन गर्न पनि उत्तिकै जरुरी छ। यस्तो जटिल परिस्थितिमा एकअर्काका लागि सहयोग, माया र सद्भाव राख्नु अत्यन्त आवश्यक छ ।’