साउथका चर्चित अभिनेता चिरञ्जिवीले २२ अगस्ट अर्थात् आज आफ्नो ६५औं जन्मदिन मनाउँदैछन् । सन् १९७८ देखि अभिनयमा सक्रिय उनको आज पनि स्टारडममा कुनै कमी आएको छैन । उनको अभिनय र एक्सन गर्ने शैलीको दर्शकमाझ निकै चर्चा हुने गरेको छ ।
गएको वर्ष प्रदर्शनमा आएको उनी अभिनीत फिल्म ‘साय रा नरसिम्हा रेड्डी’ बक्सअफिसमा सफल भएको थियो । चिरञ्जिवीले १९७८ मा फिल्म ‘पुनाधिराल्लु’ बाट फिल्मी करिअर सुरु गरेका थिए । तर, फिल्म ‘मना पूरी पन्डावुलू’ बाट उनलाई सफलता मिलेको थियो ।
तेलुगूसँगै कन्नड र हिन्दी फिल्ममा पनि काम गरिसकेका उनले ९ पटक साउथको फिल्मफेयर अवार्ड आफ्नो पोल्टामा पारेका छन् । उनी भारतको तेस्रो सबैभन्दा प्रतिष्ठित सम्मान पद्मभूषणबाट समेत सम्मानित भइसकेका छन् ।
चिरञ्जिवीको वास्तविक नाम कोणिदेल शिव शंकर वर प्रसाद हो । उनको जन्म आन्ध्र प्रदेशको पश्चिमी गोदावरी जिल्लामा भएको थियो । उनले अभिनयसँगै राजनीतिमा पनि आफ्नो उपस्थिति जनाइसकेका छन् । सन् २००८ मा आन्ध्र प्रदेशमा उनले प्रजा राज्यम पार्टीको स्थापना गरेका थिए । २००९ मा भएको विधानसभा चुनावमा उनको पार्टीले १८ सिट जित्न सफल भएको थियो ।
२० फेब्रअरी १९८० मा तेलुगु कलाकार अल्लू रामलिंगैयाकी छोरी सुरेखासँग विवाह गरेका चिरञ्जिवी तीन सन्तानका पिता हुन् । अभिनेता राम चरण उनकै छोरा हुन् । ६५ वर्षको उमेरमा पनि अभिनय सक्रिय रहेका उनको नयाँ फिल्म ‘आचार्या’ प्रदर्शनको पखाईमा छ । यसमा उनले छोरा राम चरणसँग स्क्रिन शेयर गरेका छन् । उनलाई साउथको ‘मेगास्टार’ समेत भन्ने गरिन्छ ।