दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गर्न लागेको चलचित्र ‘छक्का पञ्जा ४’को काम कोरोना भाइरसको कारण पेन्डिङमा छ । ‘छक्का पञ्जा’ का तीन वटै सिरिजले दर्शकको अपार माया पाएको थियो भने यो टिमले निर्माण गर्ने चलचित्र सर्वाधिक कमाई गर्ने चलचित्रको रूपमा स्थापित भैसकेका छन् । पछिल्ला केही वर्ष यता हरेक वर्षको दसैँमा नयाँ चलचित्र ल्याउने दीपा दीपकको टिमले यस वर्षको दसैँमा ‘छक्का पञ्जा ४’ प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर कोरोनाको महामारीका कारण यो वर्ष यति बेला सम्म चलचित्र फ्लोरमा जान सकेको छैन । लामो समय योजना अनुसार चलचित्रको काम सुरु हुन नसकेपछि निर्माण पक्षले चलचित्र ‘छक्का पञ्जा ४’ पहिलेको भन्दा फरक कथामा बन्ने बताएको छ ।
यसबारे बताउँदै निर्माता कलाकार दीपक राज गिरीले ‘छक्का पञ्जा ४’ को कथा अघिल्ला सिरिजभन्दा भिन्न रहेको र छायाङ्कनका लागि एक वर्ष लाग्ने बताएका छन् । उनले चलचित्रको लागी छायाङ्कन लगायत काम लामो समय लाग्ने र यो तीन करोडको लागतमा निर्माण हुने समेत जानकारी दिएका छन् । यस भन्दा पहिले उनीहरू बाहिरी ब्यानरका चलचित्रमा काम गर्न तयार रहेको बुझिएको छ ।