
काठमाडौं : आगामी फागुन २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने लागेको फिल्म ‘दुखी आत्मा’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार निर्माण टिमले ४ मिनेट ७ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक भएको ३ घण्टा नबित्दै ट्रेलर युट्युबको ट्रेन्डिङमा समेत पर्न सफल भएको छ। युट्युबको ‘फिल्म सेक्सन’ अन्तर्गत ट्रेलर यतिबेला ट्रेन्डिङ नम्बर ८ मा छ। ट्रेलरमा समावेश गरिएका केही संवादहरु त सामाजिक संजालमा भाइरल समेत हुन थालिसकेका छन्।
मिश्रित प्रतिक्रिया पाइरहेको ट्रेलरमा दयाहाङ राई र आँचल शर्माको प्रेम, नोकझोक एवम् आत्मीयता देख्न सकिन्छ।
क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्म आगामी फागुनको २ गते प्रेम दिवसको अवसर पारेर प्रदर्शन हुँदैछ। फिल्मका निर्माता हिमाल कडरिया हुन्। दिपेन्द्र लामाको कथा र निर्देशन फिल्ममा रहेको छ। फिल्मको पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका हुन्।
दया र आँचलका अलावा फिल्ममा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के लगायतका अब्बल कलाकारहरुको अभिनय रहेको छ। प्रदर्शन हुन अब धेरै दिन छैन। त्यसैले पनि होला निर्माण टिमले प्रचारप्रसारलाई निकै नै तिव्रता दिएको छ।
यस अघि सार्वजनिक भएको टिजर अनि गीतले निकै चर्चा पायो। अडल्ट ड्रामा भनिएको फिल्मलाई लिएर दर्शकहरु निकै उत्साहित छन्।