
काठमाडौं : अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूको मुख्य भुमिका रहने फिल्म ‘सोल्टिनी’को शुभ मुहूर्त गरिएको छ। आइतबार निर्माण टिमका केही सदस्यहरुको उपस्तिथिमा मोरङको भुल्केदेवी मन्दिर र ललितपुरको कार्यविणायक मन्दिरमा क्यामरा र स्क्रिन पूजा गर्दै शुभ मुहूर्त गरिएको हो।
शुभ मुहूर्तमा भने फिल्मका निर्देशक अनि कलाकारहरुको उपस्तिथि थिएन। भुल्केदेवी मन्दिरमा फिल्मकी निर्मात्री रेजिना बिष्ट उपस्थित थिइन् भने यता कार्यविणायक मन्दिरमा भने फिल्मका प्रोजेक्ट हेड सुजन खतिवडा, सहायक स्क्रिप्ट राइटर अनिरुध आत्रीय, सहायक सिनेमाटोग्राफरद्वय पुरु पराजुली र विशाल प्रजापति उपस्थित थिए। सामान्य तरिकाले शुभ साइतलाई छोपिएको भएर फिल्मका सबै टिमको उपस्तिथि नभएको बताइएको छ। तर छायांकन सुरुहुने दिनमा भने फिल्मका सबै सदस्यहरु उपस्थित हुनेछन्।

निर्माण टिमले केही दिन अघि मात्रै परिचयात्मक भिडियो सार्वजनिक गरेको थियो। फिल्मको निर्माण घोषणा गर्दै उक्त भिडियो सार्वजनिक गरिएको थियो। जहाँ फिल्मका मुख्य कलाकारद्वय प्रकाश सपूत र परीक्षा लिम्बूको पात्र परिचय गराइएको छ।
फिल्मका प्रकाशले ‘भीमसेन पोखरेल’को पात्र निर्वाह गर्दैछन् भने परीक्षाले ‘दिलासा राई’को पात्र निर्वाह गर्दैछिन्। भिडियोमा प्रकाश र परीक्षाको मनछुने संवाद छ। जुन संवादलाई दर्शकले यतिबेला रुचाइरहेका छन्। फिल्म जातीय भेदभाव र अपुरो प्रेमको संवेदनशील कथामा आधारित रहनेछ।

फिल्मलाई ‘रंगेली’ निर्देशक अर्जुन सुवेदीले निर्देशन गर्दैछन्। फिल्मका अर्जुनकै कथा रहनेछ। फिल्ममा प्रकाश र परीक्षाका अलावा विल्सन बिक्रम राई अनुबन्धित भइसकेका छन्। अन्य कलाकारहरुको लाइनअप भने पूरा गर्न बाँकी रहेको बताइएको छ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो फिल्मको यही पुस १५ गतेबाट छायांकन आरम्भ हुनेछ। फिल्म आगामी नयाँ वर्षको असोज ३ गते संविधान दिवसको दिनदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा पोस्टर तथा पब्लिसिटी डिजान ट्राइडेन्ट कन्सेप्ट टिमको रहेको छ।