
काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा स्थापित कम्पनी हो ‘केन्द्र मोसन पिक्चर्स’। यो कम्पनीले थोरै तर गुणस्तरीय गीतहरू उत्पादन गर्दै बजारमा ल्याउने काम गर्छ। हालैमात्र यसै कम्पनी मार्फत नयाँ गीत रिलिज भएको छ।
केही दिनअघि रिलिज भएको ‘एकोहोरो माया’ गीत यतिबेला चर्चामा छ। गीतमा युवापुस्तामाझ निकै रुचाइएका गायक छेवाङ लामाको सुमधुर आवाज रहेको छ। गीतमा शब्द र संगीत भने अर्का चर्चित गायक एकदेव लिम्बूको रहेको छ। यी दुई गायकहरुको काम गीतमा उत्कृष्ट छ।
गीत जति अब्बल छ भिडियो झन् उत्कृष्ट बनाइएको छ। एकतर्फी मायामा एक प्रेमीले पाएको कारुणिक पीडालाई भिडियोमा देखाइएको छ। नायिका मिरुना मगर र गायक स्वयं छेवाङ लामा भिडियोमा फिचर्ड छन्। कुनै फिल्म हेरेकोजस्तो आभाष गराउँछ भिडियोले।
निर्माण टिमले भिडियोमा निकै मिहेनत गरेको छ। ५ मिनेटको भिडियो भएतापनि कुनै कुरामा सम्झौता गरिएको छैन। भिडियोलाई आकाश पौडेलले निर्देशन गरेका हुन्। विकेश मगरको छायांकन, सम्पादन अनि रंग संयोजन भिडियोमा रहेको छ।
केन्द्र मोसन पिक्चर्सकै युट्युबबाट सार्वजनिक भएको गीतलाई अहिलेसम्म १५ लाख बढीपटक भ्युज मिलेको छ। दर्शकहरुबाट पनि गीतलाई राम्रो प्रतिक्रिया मिलिरहेको छ। राम्रो प्रतिक्रिया पाउँदै गीत यतिबेला युट्युब ट्रेन्डिङमा समेत पर्न सफल भएको छ।
यो समाचार तयार पार्दासम्म गीत युट्युबको म्युजिक सेक्सन अन्तर्गत ट्रेन्डिङ नम्बर ५ मा आइपुगेको छ। यसरीनै दर्शकहरुले रुचाउँदै गएमा ट्रेन्डिङ १ मा पर्न सक्ने आँकलन गरिएको छ। टिकटकमा पनि असाध्यै रुचाइएको छ गीतलाई। छोटो समयमै लाखौं टिकटक भिडियो बनेका छन्।