काठमाडौं : पछिल्लो समय नयाँ नेपाली फिल्महरु घोषणा हुने र निर्माण हुनेक्रम निकै बढ्दो छ। एकताका एकछत्र राज गर्न सफल ‘एक्सन जनरा’ले पछिल्लो समय पुनः निरन्तरता पाउँदैछ। यसैबीच, एक्सन जनरामा आधारित नयाँ फिल्म ‘हन्टर’को निर्माण घोषणा गरिएको छ।
सोमबार कृष्ण जन्माष्टमीको अवसर पारेर टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो। फिल्ममा हन्टरको रुपमा अभिनेता अरुण क्षेत्री अनुबन्धित भएका छन्। अब दर्शकले अरुणको एक्सन अवतार देख्न पाउनेछन्।
सार्वजनिक टाइटलमा फिल्मको थिमलाई झल्काइएको छ। टाइटलले (टाइफोग्राफी) नै फिल्म एक्सन जनरामा निर्माण हुन लागेको महशुस गराउँछ। टाइटलले नै एक किसिमको कौतुहलता उत्पन्न गराएको छ। उक्त टाइफोग्राफी ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्। उसो त यो फिल्ममा पोस्टर तथा पब्लिसिटी डिजाइन पनि रोयल भिमसेनकै रहनेछ।
फिल्मलाई जीवन सिंहले निर्देशन गर्दैछन्। उनले यसै सिनेमा मार्फत निर्देशनमा डेव्यू पनि गर्दैछन्। क्याचकक् इन्टरटेन्मेन्टको प्रस्तुति रहने फिल्म पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको संयुक्त सहकार्यमा निर्माण हुँदैछ।
निर्माण टिमले छिट्टै अन्य जानकारी दिने बताएको छ। यस् अघि फिल्ममा अभिनेत्रीको रुपमा गरिमा शर्मा रहने हल्ला चलेको थियो। यद्यपि निर्माण टिमले आधिकारिक जानकारी भने दिएको थिएन।