नेपालगन्ज : अत्याधुनिक सुविधा सम्पन्न सिनेमा हल ‘सिने रोयल’ले आफ्नो पहिलो वर्ष सफलताको साथ पूरा गरेको छ। गत वर्ष श्रावण ११ गतेदेखि संचालनमा आएको सिने रोयलले शुक्रबार पहिलो वार्षिकोत्सब मनाएको हो।
वार्षिकोत्सबको अवसरमा हलमा भव्य कार्यक्रमको आयोजना समेत गरिएको थियो। कार्यक्रममा एक वर्षभरि भएका गतिविधिलाई स्मरण गरिएको थियो। यो वितेको एक वर्षमा सिने रोयलमा सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘गदर २’ बन्यो। त्यस्तै नेपाली फिल्मको हकमा भने सबैभन्दा बढी व्यापार ‘परदेशी २’ले गर्यो। हलमा ५१ औं दिन मनाउने फिल्ममा चाहिँ ‘महाजात्रा’ पर्न सफल रह्यो।
स्थापनाको छोटो समयमै पश्चिम नेपालका दर्शकहरुको मन जित्न सफल यस् हलमा दोस्रो वर्षमा प्रवेश गर्नै लाग्दा विभिन्न आकर्षक योजना समेत ल्याएको छ। मोबाइल एप सार्वजनिक गर्दै अबको दुईदिनमा एपबाट टिकट खरिद गर्नेलाई विभिन्न प्याकेजमा वर्ल्डलिंक नेपालगन्जबाट २५ प्रतिशत छुट दिइने हल टिमले बताएको छ।
त्यस्तै, यस एपमार्फत अबको एक सातासम्म सिनेरोयलमा कुनैपनि फिल्मको टिकट खरिद गर्ने दर्शकलाई लक्की ड्र मार्फत यति एयरलाइन्सको पर्वतीय उडान जित्ने मौका समेत रहनेछ। भविष्यमा खाद्य परिकार सहित अन्य सेवामा समेत छुट दिनेगरी काम अघि बढाइएको पनि बताइएको छ।
वार्षिकोत्सब कार्यक्रममा हलका संचालक विनोद थापाद्वारा केक काटिएको थियो। उनले सिने रोयलका सम्पूर्ण कर्मचारी एवम् नेपालगन्जका दर्शकहरुलाई आभार प्रकट गरे।
आकर्षक डेकोरेसन, उच्चस्तरीय साउन्ड क्वालिटी, अत्याधुनिक प्रविधि, मनोरम वातावरण, कर्मचारीहरुको शिष्ट व्यवहार भएरै होला पछिल्लो समय फिल्म हेर्नको लागि सिने रोयल दर्शकहरुको प्रमुख रोजाइ बन्ने गरेको छ। आगामी दिनहरुमा अझै गुणस्तर थप्दै जाने हल संचालक टिमको योजना रहेको छ।