
काठमाडौं : आगामी श्रावण १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोदीबेनी’को ट्रेलर यतिबेला युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ। बिहीबार दिउँसो ३ बजे रिलिज गरिएको ट्रेलर २४ घण्टा नहुँदै युट्युबको ‘फिल्म ट्रेन्डिङ’ सेक्सन अन्तर्गत ट्रेन्डिङमा पर्न सफल भएको हो।
यो समाचार तयार पार्दासम्म ट्रेलर १७ नम्बर ट्रेन्डिङमा रहेको छ। ट्रेलरले रिलिज भएको १ दिनको दौरानमा १ लाख ८० हजार बढी भ्युज प्राप्त गरेको छ। उसो ट्रेलरलाई निकै राम्रो प्रतिक्रिया मिलिरहेको छ। धेरै सेलिब्रेटीहरुले ट्रेलरको लिंक सामाजिक संजालमा सेयर गर्दै उत्कृष्ट लागेको प्रतिक्रिया समेत दिइरहेका छन्।

बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ३ मिनेट १७ सेकेन्ड लामो ट्रेलर रिलिज गरेको हो। ट्रेलरमा सिनेमाका प्रायः प्रमुख कलाकारहरुलाई देखाइएको छ। सिनेमाकी अभिनेत्री वर्षा शिवाकोटी र नव अभिनेता अमरप्रताप श्रेष्ठलाई जोडीको रुपमा देख्न सकिन्छ। यि दुईको प्रेम सम्बन्धमा बाधा गर्ने अर्का पात्र छन् प्रवीण खतिवडा। प्रविणले वर्षालाई चाहन्छन् तर वर्षा भने अमरको प्रेममा तृप्त छिन्।
त्यतिमात्रै नभएर अमरको एक्सन अवतार पनि ट्रेलरमा देख्न सकिन्छ। ट्रेलरमा वर्षाको हरर अवतारलाई पनि देखाइएको छ। समग्रमा ट्रेलर प्रेम, एक्सन र आवेगमा आधारित रहेको छ। ट्रेलरले दर्शकलाई पूरा सिनेमाको प्रतीक्षा गर्न बाध्य बनाउँछ।
डिनेस्ट इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको छ। वर्षा र अमरका अलावा सरोज खनाल, रेजिना उप्रेती, प्रवीण खतिवडा, कमलमणि नेपाल, जीवन भट्टराई, दिलिप केसी लगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ।
दिलिप केसी चलचित्रका निर्माता हुन् भने सह-निर्माताको रुपमा हरि श्रेष्ठ रहेका छन्। चलचित्रको पोस्टर र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्। यो चलचित्रबाट अमरले डेव्यू गर्दैछन्। अभिनेत्री रेजिना उप्रेतीले यसै चलचित्रबाट कमब्याक गर्दैछिन्।