नेपालगन्ज : गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘घर ज्वाईँ’ले यतिबेला दर्शकको मन जितिरहेको छ। प्रदर्शनको दिनदेखि नै फिल्मले हाउसफुल व्यापार समेत गरिरहेको छ।
मंगलबार मात्रै नेपालगन्जमा फिल्म हेर्नको लागि दर्शकको घुइँचो रहेको थियो। नेपालगन्ज स्थित सिनेरोयलमा त मंगलबार दिनभिरका शोजहरु हाउसफुल भएका थिए। फिल्म हेर्ने सबै दर्शकहरुले राम्रो रहेको प्रतिक्रिया समेत दिएका थिए। दर्शकको बाक्लो भिडले हलको रौनक नै बेग्लै देखिएको थियो।
भोलि बुधबार नेपालगन्जका विद्यालयहरु बन्द छन्। त्यसैले भोलि पनि फिल्मले हाउसफुल व्यापार गर्ने आँकलन गरिएको छ। दिनानुदिन फिल्म हेर्ने दर्शकहरुको संख्या बढ्दो छ।
फिल्ममा अनिल बुढामगरको लेखन तथा निर्देशन रहेको छ। फिल्ममा उठाइएको मौलिक कथालाई दर्शकहरुले औधी रुचाएका छन्। फिल्ममा अनिल बुढा मगर, विनोद खतिवडा र सुवास कोइरालाको पटकथा रहेको छ। जिएम मुभिज प्रोडक्सनको प्रस्तुति रहेको फिल्म रुकुमका विभिन्न स्थानमा छायांकन गरिएको हो। जनक घर्ती मगर फिल्मका निर्माता हुन्।
दयाहाङ राई र मिरुना मगरको फिल्ममा मुख्य भुमिका रहेको छ। त्यस्तै शिशिर बाङ्देल, राज थापा मगर, कविता आलेमगर, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ। फिल्मलाई सुशान प्रजापतिले खिचेका हुन् भने कृष्ण भण्डारीले सम्पादन गरेका छन्।