काठमाडौं : आगामी श्रावण १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मोदीबेनी’को पहिलो गीत रिलिज गरिएको छ। सोमबार काठमाडौंको सिभिल मलमा भव्य कार्यक्रमको आयोजना गर्दै ‘मन्जुरी’ बोलको गीत रिलिज गरिएको हो।
ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको मेलोडियस स्वर सुन्न सकिन्छ। गीतमा राम अबिरल बिष्टको शब्द रहेका छन्। गीतमा संगीत पनि एसडी योगीकै रहेको छ। एसडी र विज्ञानीको स्वर गीतमा निकै मेलोडियस सुनिएको छ।
उसो त गीतको अडियो जति मेलोडियस छ त्यो भन्दा झन् आकर्षक भिडियो बनाइएको छ। भिडियोमा फिल्मका मुख्य कलाकार वर्षा शिवाकोटी र अमर प्रताप श्रेष्ठलाई देख्न सकिन्छ। वर्षा एक विद्यालयकी शिक्षिका रुपमा भिडियोमा रहेकी छिन्। अमर भने शिक्षिकाको प्रेममा पर्छन्। अनि त्यसपछि वर्षा र अमरको प्रेमिल रोमान्स सुरु हुन्छ।
भिडियो निकै आकर्षक लाग्छ। वर्षा र अमरको केमिस्ट्री निकै गजब देखिएको छ भिडियोमा। अमरको यो पहिलो काम हो। तर पनि उनको काममा परिपक्वता देख्न सकिन्छ। उनले वर्षासँग खुलेर काम गरेका छन्। आकर्षक लोकेसनले भरिएको भिडियोले साँच्चिकै आँखालाई शितलता प्रदान गर्छ। भिडियोलाई किरण थापाले कोरियोग्राफी गरेका हुन्।
शंकर कोइरालाको निर्देशनमा तयार भएको ‘मोदीबेनी’ आगामी श्रावण १८ गतेदेखि विश्वभर प्रदर्शन हुँदैछ। फिल्म डिनेस्ट इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्ममा आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको छ। फिल्ममा वर्षा र अमरका अलावा सरोज खनाल, रेजिना उप्रेती, प्रवीण खतिवडा, कमलमणि नेपाल, जीवन भट्टराई, दिलिप केसी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।
दिलिप केसी फिल्मका निर्माता हुन् भने सह-निर्माताको रुपमा हरि श्रेष्ठ रहेका छन्। फिल्मको पोस्टर र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्। यस् अघि रिलिज भएका फिल्मका पोस्टरहरुले राम्रै चर्चा पाएका थिए। उसो त आज रिलिज भएको गीतले पनि फिल्मको प्रचारप्रसारमा ठूलो टेवा पुर्याउने अनुमान गरिएको छ।
यो फिल्मबाट अमरले डेव्यू गर्दैछन्। अभिनेत्री रेजिना उप्रेतीले यसै फिल्मबाट कमब्याक गर्दैछिन्। त्यसैले पनि ‘मोदीबेनी’लाई लिएर दर्शक निकै उत्साहित छन्। निर्माण टिम पनि प्रचारप्रसारमा लागिपरेको छ। अब टिजर, ट्रेलर र अन्य गीतहरूसँगै प्रचार सामाग्री सार्वजनिक गर्ने तयारीमा रहेको छ निर्माण टिम।