ज्ञानु संगम खड्का/नेपालगन्ज : नेपाली संगीत क्षेत्रमा मेलोडियस गायकको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायक हुन् सुनिल गिरी।
विशेषगरी ग्रामीण क्षेत्रका कुराहरु अनि माया प्रेमलाई जस्ताको तस्तै आफ्नो शब्द, संगीत अनि स्वरमा उतारेर दर्शक माझ मेलोडियस गीत पस्किन सिपालु गायक गिरीका धेरै मेलोडियस गीतहरु चर्चित एवम् लोकप्रिय छन् ।
विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशिल सुनिलले अब भने नयाँ प्रतिभालाई पनि अगाडि बढाउने अभिनायको थालनी गरेका छन् । उनले भर्खरै मात्र आफू बस्ने घरमा होम स्टुडियो निर्माण गरेका छन् । गायन, शब्द-संगीत सृजना, अभिनय एवम् मोडलिङ प्रतिभा भएरपनि आर्थिक अभावमा कारण पछाडि परेका जोकोहीलाई आफुले सकेसम्म नि:शुल्क सहयोग गर्ने घोषणा गरेका छन् ।
केही दिन अघि बजारमा आएको उनकै गीत “झरी परेको रात”गीतको बारेमा फेसबुक लाइभमा बोल्दै वर्षमा कला भएका २/३ जनालाई आफ्नो तर्फबाट नि:शुल्क सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनी भन्छन् ,”आफु मात्रै अगाडि बढेर सांगीतिक क्षेत्र फराकिलो हुँदैन । सांगीतिक क्षेत्रलाई अझै फराकिलो बनाउन नयाँ नयाँ प्रतिभालाई अवसर दिन जरुरी छ। त्यसैले वर्षमा २/३ जना नव प्रतिभालाई मैले नि:शुल्क सहयोग गर्ने घोषणा गरेको छु।”
उनको यो थालनीलाई यतिबेला सबैले प्रशंसा समेत गरेका छन् । एकजनाले मात्रै नभएर सबैजना गायक, संगीतकार एवम् सर्जक लगायतले आ-आफ्नो स्थानबाट नयाँ प्रतिभा भित्र्याउन पहल गर्नुपर्ने सुनिल बताउँछन् । उनको यो विशेष अभियानमा लोकप्रिय गायक भुपु पाण्डे र पवन सिंखडाको विशेष साथ रहेको बताइएको छ।
यसरी सुनिलले अभियान सुरु गर्दै गर्दा प्रतिभा भएर पनि आर्थिक अभावका कारण नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गर्न नसकेकाहरुलाई ठूलो टेवा मिल्नेछ । त्यसै अनुरुप आर्थिक अभावका कारण पछाडि परेका प्रतिभावान कलाकारले सुनिल गिरीको अफिसियल फेसबुकमा रहेको मोबाइल नम्बरमा फोन गरेर सहयोग लिन सकिने सुनिल बताउँछन् ।