काठमाडौं : आगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मोदीबेनी’ टिमले यतिबेला प्रचारप्रसारलाई तिब्रता दिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा टिमले प्रचार सामाग्री पनि दर्शकमाझ सार्वजनिक गरिरहेको छ। केही हप्ता अघि फर्स्टलुक पोस्टर सार्वजनिक गरेको टिमले यतिबेला एउटा नयाँ पोस्टर सार्वजनिक गरेको छ।
निर्माण टिमले फिल्मका मुख्य कलाकारहरुसहितको आकर्षक पोस्टर बुधबार सार्वजनिक गरेको हो। पोस्टरमा अभिनेत्री वर्षा शिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठलाई खुशी चेहरामा देख्न सकिन्छ। त्यस्तै प्रवीण खतिवडा र रेजिना उप्रेती भने अलि गम्भीर मुद्रामा छन्।
उसो त पोस्टरमा दिलिप केसी पनि घोडामा सवार भइरहेको अवस्थामा देख्न सकिन्छ। अन्य कलाकारहरुको भन्दा वर्षालाई पोस्टरमा ठुलो स्थान दिइएको छ। ढाँकाको सारी र चोलीमा सजिएकी छिन् वर्षा। झट्ट हेर्दा कुनै विद्यालयमा पढाउने शिक्षिका जस्तो लाग्छ उनी। त्यस्तै अमर पनि साधारण पहिरनमा लजालु स्वभावका देखिएका छन्।
पोस्टरमा फिल्मको टाइटल पृथक तरिकाको छ। झोलुङ्गे पुलको आकारमा छ फिल्मको टाइटल। समग्रमा पोस्टरले दर्शकलाई फिल्म कुर्न बाध्य पार्छ। निकै आकर्षक छ पोस्टर। फिल्मको थिम पनि पोस्टरमा झल्किएको छ। फिल्म कस्तो होला भन्ने कौतुहलता पोस्टरले पैदा गरेको छ।
यस्तो आकर्षक पोस्टरको डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्। पोस्टर डिजाइनमा उनले निकै समय दिएर मिहेनत गर्छन्। मुम्बईबाट डिजिटल पेन्टिङको कोर्स पूरा गरि काम सिकेर आएका रोयल डिजिटल आर्टिस्ट हुन्। उनको कला पोस्टरमा गजब तरिकाले झल्किएको छ। यो पोस्टरमा उनले डिजिटल पेन्टिङ्को प्रयोग गरेका छन्।
‘जात्रा’, ‘चिसो मान्छे’, ‘महापुरुष’, ‘महाजात्रा’, ‘प्रकाश’, ‘पुजार सार्की’ जस्ता फिल्मको आकर्षक पोस्टर डिजाइन गरेका रोयलको डिजाइनको निकै चर्चा हुनेगर्छ। हाल ‘मोदीबेनी’को काममा उनी व्यस्त छन्। यस् अघि सार्वजनिक भएका ‘मोदीबेनी’का क्यारेक्टर पोस्टरहरुको पनि राम्रो चर्चा भएको थियो।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्मलाई शंकर कोइरालाले निर्देशन गरेका हुन्। फिल्मको कथा आनन्द विक्रम क्षेत्रीले लेखेका हुन्। फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्।
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर निर्माण भएको फिल्ममा वर्षा, अमर, रेजिना, प्रवीण, दिलिपका अलावा सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।
फिल्ममा शान भुसाल र एसडी योगीको सङ्गीत, रहेको छ। राम अविरल बिस्ट र शान भुसालका शब्द रचना तथा स्वरूप राज आचार्य, एसडी योगी, एरिका खाती र विज्ञानी पराजुलीको स्वर रहेको छ। फिल्मलाई उत्सव दाहालले खिचेका हुन्। फिल्ममा भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ।
फिल्मलाई लिएर निर्माण टिम निकै उत्साहित छ। उसो त दर्शकहरु पनि उत्साहित छन्। आकर्षक पोस्टरहरु देख्दा फिल्म उत्कृष्ट बनेको अनुभुति हुन्छ। पूरा फिल्म चाहि कस्तो होला भन्ने जिज्ञासा् यतिबेला धेरै दर्शकहरुको छ। निर्माण टिमले अब फिल्मको टिजर, गीत अनि ट्रेलर सार्वजनिक गर्ने तयारी गरेको छ।