काठमाडौं : आज शुक्रबारदेखि दुई नेपाली फिल्महरु प्रदर्शनमा आएका छन्। रुपेश तामाङ निर्देशित ‘दान्भी’ र प्रशान्त रसाइली निर्देशित ‘आचार्य’ आजबाट एकसाथ प्रदर्शनमा आएका हुन्। जसमध्ये ‘दान्भी’ नयाँ फिल्म हो भने ‘आचार्य’ पुरानो फिल्म हो।
‘दान्भी’लाई मल्टिप्लेक्समा राम्रो शो मिलेको छ। क्युएफएक्सले राजधानीमा १६ र मोफसलमा ३१ वटा शो यो फिल्मलाई दिएको छ। उसो त अन्य मल्टिप्लेक्समा पनि राम्रै शो रहेको छ। एक्सन जनरामा बनेको फिल्ममा पूजा शर्मा, कुन्साङ बोमजोम, किरण श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ।
फिल्ममा देव मगर र अनुप गडालको लगानी रहेको छ। सह-निर्माताको रुपमा कमला लिम्बु, पञ्च बहादुर तामाङ र आदर्श पौडेल रहेका छन्। संजोग राणाको पटकथा र रविन थापा मगरको कथा रहेको फिल्मलाई हरिप्रसाद घलेले खिचेका हुन्। फिल्ममा श्री श्रेष्ठको द्वन्द निर्देशन र बन्दे प्रसादको सम्पादन रहेको छ।
फिल्मलाई लिएर पूजा निकै उत्साहित छिन्। किनकी पूजाको एक्सन जनराको यो पहिलो फिल्म हो।
यता, फिल्म ‘आचार्य’लाई पनि राम्रै शो दिइएको छ। १५ बर्ष अगाडि निर्माण भएको यो फिल्म पुनः प्रदर्शनमा आएको हो। स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा फिल्म आधारित छ।
फिल्ममा भक्तराज आचार्यको भुमिकामा सत्यराज आचार्यले अभिनय गरेका छन्। त्यस्तै, भक्तराजको श्रीमतीको भुमिकामा अरुणा कार्कीले अभिनय गरेकी छिन् । विपिन कार्की, दयाहाङ राई, सौगात मल्लको समेत फिल्ममा अभिनय रहेको छ।
शैलेन्द्र डी कार्कीको छायांकन रहेको यो फिल्मलाई पुनः सम्पादन गरेर प्रदर्शनमा ल्याइएको हो।