‘सतीदेवी’ टिजर : छोरी भएर जन्मिएकोमा मलिकालाई पछुतो

काठमाडौं : लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को टिजर रिलिज गरिएको छ। शुक्रबार २ मिनेट ३३ सेकेन्डको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको हो।

टिजरमा छोरी भन्दा पनि छोरा चाहने पितृसत्तात्मक सोच भएका एक बुवाको कथालाई देखाइएको छ। छोराको आशमा छोरी जन्मिएपछि दिनहुँजसो मदिरा सेवन गरेर परिवारमा कलह मच्चाएको दृश्य टिजरमा देख्न सकिन्छ।

टिजरमा अभिनेत्री मलिका महत परिवारकी जेठी छोरीको रुपमा रहेकी छिन्। टिजर बुवाले दिनहुँ जाँडरक्सी खाएर घरमा झगडा गर्ने भएपछि  सतीदेवी अधिकारी (मलिका)ले अर्को जुनीमा छोरा भएर जन्मिन पाउँ भन्दै भगवानसँग पुकारीकी छिन्। मलिकालाई छोरी भएर जन्मिएकोमा पछुतो समेत छ।

छोरीले पनि छोरा सरह परिवारको जिम्मेवारी बहन गर्न सक्छन् भन्ने भाव टिजरमा रहेको छ। टिजर हेर्दा मन भावुक हुन्छ। कतिपय दृश्यले त मुटु नै चिसिक्क बिझाउँछन्। टिजरले दर्शकलाई पूरा फिल्मको प्रतीक्षा गर्न बाध्य पार्छ।

फिल्ममा मलिकाका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनीषा सापकोटा लगायतका कलाकारहरुको पनि मुख्य भुमिका रहेको छ।

फिल्म आगामी श्रावण ४ गतेदेखि प्रदर्शनमा आउँदैछ। लक्ष्मण सुवेदीकै कथा र निर्माण फिल्ममा रहेको छ।  क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको फिल्मका निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन्।

फिल्मलाई बाबू श्रेष्ठले खिचेका हुन् भने तारा थापा किम्वेले सम्पादन गरेका हुन्। फिल्मले प्रदर्शन अगावै थुप्रै अवार्डसमेत जितिसकेको छ। समाजको यथार्थ घटनालाई उठाएको भएर पनि होला दर्शकहरु फिल्मको प्रतीक्षामा रहेका छन्।

प्रतिक्रिया

TOP