
काठमाडौं : आगामी बिहीबारदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म ‘पुजार सार्की’को अग्रिम बुकिङ खुल्ला गरिएको छ। सोमबार दिउँसोदेखि फिल्मको बुकिङ खुल्ला गरिएको हो। फिल्मलाई क्युएफएक्सले राम्रो शो दिएको छ।
क्युएफएक्स चेनले देशभर ६० भन्दा बढी शो दिएको छ। त्यस्तै अन्य मल्टिप्लेक्सहरुले पनि बुकिङ खुलाउनेक्रम जारी रहेको छ। देशभर राम्रो शो पाएको ‘पुजार सार्की’ले प्रदर्शनको दिन आक्रमक व्यापार गर्ने आँकलन गरिएको छ।

यतिबेला फिल्मको चौतर्फी चर्चा भइरहेको छ। फिल्मको ट्रेलरले मात्रै हालसम्म १८ लाख बढी भ्युज युट्युवमा पाएको छ। सकारात्मक प्रतिक्रिया पनि फिल्मलाई उत्तिकै छन्। रिलिज भएका फिल्मका ट्रेलर, गीत अनि पोस्टरलाई औधी रुचाएका अधिकांस दर्शकहरु अब फिल्मको प्रतीक्षामा रहेको पाइएको छ।
दिनेश राउत निर्देशित फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्। किङ्डम नेटवर्कको व्यानरमा निर्माण भएको फिल्मका निर्माता सुवास भुसाल हुन् । जातीय विभेद विरुद्धको कथा रहेको फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बूको मुख्य भुमिका रहेको छ।
त्यसो त, मोहन निरौला, प्रेम सुब्बा, लोकेन्द्र लेखक, सुवास गजुरेल लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ। फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्दैछ।भने अन्तर्राष्ट्रिय रुपमा चाहिँ एमएमएस इन्टरटेन्मेन्टले वितरण गर्नेछ। फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइनर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेन हुन्।
फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन्। सम्पादन भने भरत रेग्मीले गरेका हुन्। सुप्रीम पराजुलीले फिल्मको रंग संयोजन गरेका छन्।