काठमाडौं : गत मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘पुजार सार्की’को ट्रेलर रिलिज गरियो। रिलिज गरिएको ४ मिनेट २१ सेकेन्ड लामो ट्रेलरको यतिबेला चौतर्फी चर्चा छ। दर्शकले अति नै रुचाएका छन्।
अधिकांश फिल्मकर्मीहरुले समेत ट्रेलर राम्रो लागेको भन्दै सामाजिक संजालमा प्रतिक्रिया दिएका छन्। फिल्मको ट्रेलर रिलिज भएको जम्मा दुई दिन भयो। तर ट्रेलरको हाइप भने ह्वात्तै बढेको छ। रिलिज भएको डेढ दिनमै ट्रेलरलाई युट्युबमा १० लाख बढी भ्युज समेत मिलेको छ।
चौतर्फी चर्चासँगै युट्युवमा ट्रेलरले पाएको राम्रो प्रतिक्रियासहितको भ्युज निकै लोभलाग्दो छ। युट्युवको कमेन्ट बक्स हेर्ने हो भने अधिकांश प्रतिक्रिया सकारात्मक छन्। विशेषगरी ट्रेलरबाट अभिनेता प्रदीप खड्काको अभिनयको औधी तारिफ गरिएको छ।
उसो त, आर्यन सिग्देल, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बूको पनि अभिनयको तारिफ यतिबेला फिल्मनगरिमा भइरहेको छ। जातका कारण प्रेम सम्बन्ध र समाजमा आउने उतारचढावको कथालाई ट्रेलरमा देखाइएको छ। ट्रेलर रमाइलोसँगै निकै मनछुने पनि छ।
दिनेश राउत निर्देशित ‘पुजार सार्की’ आगामी जेठ १० गते बुद्ध जयन्तीको दिनदेखि विश्वव्यापी रिलिज हुँदैछ। यस् अघि रिलिज भएका पोस्टर, टिजर लगायत गीतहरूलाई पनि उत्तिकै रुचाइएको छ।
किङ्डम नेटवर्कको ब्यानरमा निर्माण भएको फिल्ममा आर्यन दिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बू, प्रेम सुब्बा, मोहन निरौला, लोकेन्द्र लेखक लगायतका कलाकारहरुको अभिनय रहेको छ।
फिल्ममा विकास सुवेदीको कथा रहेको छ। सुवास भुसाल निर्माता रहेको फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्दैछ।भने अन्तर्राष्ट्रिय रुपमा चाहिँ एमएमएस इन्टरटेन्मेन्टले वितरण गर्नेछ। फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइनर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेन हुन्।
सामाजिक तथा मौलिक कथावस्तुमा आधारित यो फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन्। सम्पादन भने भरत रेग्मीले गरेका हुन्। सुप्रीम पराजुलीले फिल्मको रंग संयोजन गरेका छन्।