काठमाडौं : भनिन्छ नि कलाकार भएपछि जस्तो पनि क्यारेक्टरमा भिज्न सक्नुपर्छ। क्यारेक्टरलाई न्याय दिएर जीवन्त अभिनय गर्न सक्नु नै एउटा कलाकारको धर्म हो। अभिनेता प्रदीप खड्का पनि अहिले एउटा क्यारेक्टरलाई लिएर निकै मिहेनत गरिरहेका छन्।
प्रदीपले आफ्नो नयाँ फिल्म ‘एक्टर’को लागि यतिबेला सांकेतिक भाषा सिकिरहेका छन्। प्रदीपसँगै अभिनेत्री दिव्या रायमाझीले पनि सांकेतिक भाषा सिकिरहेकी छिन्। प्रदीप र दिव्याले करिब १ हप्ता ‘एक्टर’को अफिसमा भाषा सिकिसकेका छन्।
नौलो अनुभव बटुलिरहेका उनीहरूले सांकेतिक भाषामा कुराकानी गर्दै अभ्यास पनि गरेका छन्। काठमाडौंको नक्साल स्थित बालमन्दिरका विद्यार्थीहरुसँग सांकेतिक भाषामा प्रदीप र दिव्याले कुराकानी समेत गरेका छन्।
विद्यार्थीहरुसँग सांकेतिक भाषामा कुराकानी गर्दै गरेको भिडियो दिव्याले इन्स्टाको स्टोरीमा हालेकी छिन्। भिडियोमा दिव्याको कुराकानी विद्यार्थीहरुले सजिलै बुझेको आभाष गर्न सकिन्छ। उसो त प्रदीपले पनि कुराकानी गरेको भिडियोमा देख्न सकिन्छ। प्रदीपलाई मेन्सन गर्दै दिव्याले एक हप्तामै सांकेतिक भाषामा अब्बल भएको कुरा उल्लेख गरेकी छिन्।
प्रदीप र दिव्याको यस्तो प्रकारको मिहेनत निकै तारिफयोग्य छ। आशा गरौं यो मिहेनतलाई पर्दामा दर्शकले रुचाउनेछन्। फिल्ममा प्रदीप र दिव्याले श्रवण शक्ति गुमाएका युवायुवतीको क्यारेक्टर निर्वाह गर्दैछन् कि भन्ने आँकलन गर्न पनि सकिन्छ।
अदृत फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस् फिल्मबाट दिव्याले डेव्यू गर्दैछिन्। फिल्ममा प्रदीपको जोडीको रुपमा दिव्या रहनेछिन्। उसो त फिल्ममा मुख्य कलाकारको रुपमा अभिनेत्री आना शर्मा पनि रहेकी छिन्। अभिनेता राहबल्लभ कोइरालाको पनि फिल्ममा अभिनय रहनेछ।
फिल्मका निर्देशक राजन भुसाल हुन्। निर्माताको रुपमा थमन कुमार भण्डारी रहेका छन्। एनिस भुसाल र सार्थक केसी फिल्मको सह- निर्माताको रुपमा रहनेछन्।
रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन फिल्ममा रहनेछ। फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन्। फिल्मलाई लिएर निर्माण टिम नै निकै उत्साहित रहेको छ।