ज्ञानु संगम खड्का/नेपालगन्ज : पछिल्लो केही वर्ष यता नेपाली संगीत क्षेत्र फराकिलो बन्दै गइरहेको छ । गुणस्तरीय गीत संगीतहरु बजारमा आइरहेका छन् । जुन गीतहरुले बजारमा राम्रो छाप छोड्नुको साथै दर्शक स्रोताको मन मस्तिष्कमा समेत बस्न सफल भएका छन् ।
प्रविधिको विकाससंगै अझ पछिल्लो समयमा त सुन्ने भन्दा पनि हेर्ने गीतहरुको चाह बढी गर्न थालेका छन दर्शकले। त्यसै अनुरुप दर्शकको चाहलाई मध्यनजर गर्दै गीत संगीत निर्माताले गीतको अडियोसंगै भिडियो निर्माणमा पनि ध्यान पुर्याउन थालेका छन् । जुन गीतको अडियोसंगै भिडियो उत्कृष्ट बनेको हुन्छ, त्यही गीतलाई दर्शक स्रोताले रुचाएको पाइन्छ। यसको ज्वलन्त उदाहरण हुन् पछिल्लो समय बजारमा आएका २ गीतहरु “छोटो छ जिन्दगी, फोटो खिचेर राख“ र “फोटो फिरिममा“को मेल भर्जन।
यी २ गीतहरुको अडियोसंगै भिडियो उत्कृष्ट बनेका कारण छोटो समयमै दर्शक स्रोताले अत्याधिक रुचाएका छन् । दर्शकले त्यसै रुचाएका होइनन् यी २ गीतको भिडियोलाई । भिडियोमा देखाइएको कथा, परिचालन गरिएका कलाकार अनि आकर्षक प्रस्तुतीकरणका कारण यी २ गीतका भिडियोलाई दर्शकले एकदम रुचाएका छन् । भिडियो निर्माणमा एकदमै क्वालिटी दिन खोजिएको छ यी २ गीतको ।
जसरी,अडियो निर्माणमा सर्जक अनि गायक गायिकाको ठूलो हात हुन्छ, त्यसरीनै गीतको भिडियो निर्माणमा महत्त्वपूर्ण हात हुन्छ निर्देशकको। त्यसै अनुरुप,“छोटो छ जिन्दगी“ र “फोटो फिरिममा“को मेल भर्जनको गुणस्तरीय भिडियो निर्माणमा ठूलो भुमिका निर्वाह गरेका छन् निर्देशक सागर बाबु भट्टले । उनले निर्देशन गरेका यी २ गीतका भिडियो निकै हिट छन् पछिल्लो समयमा । सागरको निर्देशकिय पाटोलाई निकै तारिफ पनि मिलेको छ।
गोरखाको बारपाक सुलिकोट वडा नं. ६ ताकुकोटमा जन्मिएका सागर सानैदेखि मिहिनेती स्वभावका थिए । उनको परिवार काठमाडौंमा पनि बस्थ्यो । गोरखामै पढिरहेका सागर बाँकी पढाई पूरा गर्न वि.सं. २०५९ सालमा काठमाडौं आए बुबासँग । काठमाडौंमा सागरका बुवा, आमा बस्नुहुन्थ्यो । पढाईमा एकदमै मिहिनेती सागर कक्षामा सधै प्रथम आउँथे । पढाइमा अब्बल भएका कारण उनको लक्ष्य भविष्यमा एउटा राम्रो इन्जिनियर बन्ने थियो । लगातार ४ कक्षादेखि १० कक्षासम्म प्रथम भएका सागरले २०६९ सालमा एसएलसीको परिक्षा दिए ।
एसएलसी दिइसकेपछिको खाली समयमा त्यतिकै बस्न मन भएन सागरलाई । आफु क्रिश्चियन भएकोले हरेक शनिबार चर्चमा जान्थे उनी । पढाइसंगै सानैदेखि क्यामरासंग झुकाव राख्ने भएका कारण एसएलसी दिइसकेपछि खाली समयमा चर्चमै क्यामराम्यानको रुपमा भोलेन्टियर गर्न थाले । विस्तारै उनले चर्चमा क्यामरा सम्बन्धि राम्रो ज्ञान हासिल गर्दै गए । सुरुमा उनलाई त्यहीँ चर्चमै ‘सोनि’को क्यामरा चलाउन सिकाए अनिष स्याङ्देनले । विस्तारै क्यामरा र भिडियोग्राफीमा रुचि बढ्दै गएपछि चर्चबाटै विभिन्न इभेन्ट अनि कन्सर्टमा क्यामरा लिएर खिच्न पुगेको अनुभव छ सागरसंग । साथै विवाह ब्रतवन्ध लगायत धेरै इभेन्टहरु खिचेको उनी बताउँछन् ।
क्यामरासंग खेल्दै गर्दा उनको एसएलसीको नतिजा पनि आयो । पढाइमा अब्बल भएपनि एसएलसीमा भने उनले सोचेजस्तो नतिजा आएन। नतिजा सोचे अनुरुप नआएपछि निराशापन छायो उनीमा। तर पनि इन्जिनियर बन्ने सपना चाहिँ मरेको थिएन सागरमा। इन्जिनियर बन्ने सपनालाई मध्यनजर गर्दै उनले प्लस टुमा विज्ञान विषय लिएर पढ्न थाले । विडम्बना वि.सं. २०७२ सालमा कक्षा १२ को परीक्षा आउनु भन्दा अगाडी महाभुकम्प गयो । त्योबेला आफ्नो आँखै अगाडी दरवार हाइस्कुल ढलेको देखेको बताउँछन् सागर । त्यस लगतै आफ्नो आमा गुमाए सागरले । किशोर अवस्थामा आमा गुमाएका सागरको पढाई विविध कारणले प्लस टु मै रोकियो । उनको इन्जिनियर बन्ने सपना अधुरै भयो । त्यस समयमा उनले खाली बस्नु भन्दा केही गरौं भन्ने मनसायले शिक्षकको रुपमा विद्यालयमा पढाउन थाले । केही समयपछि पढाउन पनि छोडे । उनले बेकरी बनाउन पनि सिके । तर सागरको त्यो कामले पनि निरन्तरता पाउन सकेन ।
त्यसैक्रममा, ७४ सालतिर उनी एभिन्युज टिभीमा क्यामरा म्यानको रुपमा आवद्ध हुने मौका पाए सागरले। त्यसबेलासम्म राम्रोसँग क्यामरा चलाउन सक्ने भइसकेका थिए सागर। आफ्नो काममा कारण टिभीमा पनि सागरले राम्रै तारिफ पाउन थाले। तर अस्वस्थताका कारण करिब अढाई वर्षपछि टिभीको जागिर पनि छोड्नु पर्यो ।
त्यसपछि उनी आफ्नो दाइको अफिसमा सघाउन थाले। सागरका दाइ प्रबिन भट्ट एउटा राम्रो अनि चर्चित एडिटर हुन् । उनले थुप्रै नेपाली लोक दोहोरी एवम् आधुनिक गीतका भिडियो एडिट गरिसकेका छन् । दाइको अफिसमा बसिरहँदा दाइको कामबाट निकै प्रभावित हुन्थे सागर। प्रबिन एउटा राम्रो निर्देशक पनि हुन् । उनले केही म्युजिक भिडियो निर्देशन पनि गरिसकेका छन् । दाइसंगै सहायक निर्देशकको रुपमा सागर पनि जान्थे सुटिङ सेटमा। धेरथोर दाइबाट पनि निर्देशनको कुरा सिकेको सागर बताउँछन् ।
टिभीमै छँदा भिडियो निर्माणको बारेमा केही कुरा सिकिसकेका थिए सागरले। उसो त एउटा म्युजिक भिडियोको छायांकन अनि निर्देशन गरिसकेका थिए सागरले टिभीमै काम गर्दा। त्यसै अनुरुप भिडियो निर्माणमा हात हाल्नुपर्छ कि भन्ने सोच थियो उनीमा। उनले यो कुरा आफ्नो दाइ प्रबिनसंग राखे। यो क्षेत्रमा केही सिकेर मात्रै प्रवेश गर्नुपर्छ भनेर सागरलाई प्रविनले सुझाए ।
सागरले पनि क्यामेरा सम्बन्धि औपचारिक केही ज्ञान लिनलाई कान्तिपुर एकेडेमीमा क्लास सुरु गरे । तर त्यहाँ पनि पुरै कोर्स भने गर्न पाएनन उनले । त्यहीँ समयमा अहिलेका चर्चित क्यामरा म्यान अनिश स्याङदेन (जसले सुरुमा क्यामेरा सिकाएका थिए) ले एउटा फिल्मको ’बिहान्ड द सिन’ खिच्न बोलाए। सागरले गएर फिल्मको बिहान्ड द सिन खिचे पनि। बेलाबेला सहायक छायांकार तथा निर्देशकको रुपमा धेरै म्युजिक भिडियोमा काम गर्ने अवसर पनि पाए उनले । यसरी सागरले औपचारिक भन्दा पनि अरुले गरेको देखेर भिडियो निर्माण सम्बन्धि धेरै ज्ञान बटुलेका थिए ।
यसरी, आफ्नो सहि ट्र्याक के हो? भनेर थाहा नपाएका सागरको एकदिन अहिलेका लोकप्रिय गायक एवम् संगीतकार भुपु पाण्डेसंग भेट भयो। भुपु आफ्नो “नरिसाउन मालती“ बोलको गीत सागरका दाइको अफिसमा एडिट गराउन आएक थिए । त्यसबेला सागरले भुपुसंग राम्रो चिनजान गर्ने अवसर पाए ।
संयोगले जुराएको सागर, भुपुको त्यो भेटले विस्तारै राम्रै सम्बन्ध स्थापित गरायो। एकदिन अनिल कृष्ण मानन्धरसंग सहायक क्यामरा म्यानको रुपमा सुटिङ गएको बेला एउटा गीत सुन्ने मौका पाए सागरले। त्यो गीत थियो अहिलेको लोकप्रिय गीत “छोटो छ जिन्दगी“, फोटो खिचेर राख । गीतमा भुपु पाण्डे र मेलिना मैनालीको आवाज रहेको छ। सागरलाई उक्त गीतका शब्दले छोइसकेका थिए त्यसबेला । जुन गीतको भिडियो बन्न बाँकी थियो ।
यता भुपुले पनि भिडियो निर्माण गर्नको लागि धेरै निर्देशकलाई प्रस्ताव गरे,तर ओजनदार गीत भएकोले कसैले निर्माण गर्ने आँट देखाएनन कतिसँग त्यो माहोल मिलेन । यही गीतको भिडियोको बारेमा सागर, भुपु अनि पवनसंग दिनहुँ छलफल हुन्थ्यो । यसरी केही निर्देशकको अस्वीकार पाएको गीतको भिडियो कस्ले निर्देशन गर्ने भन्ने थाहा नभएको बताउँछन् सागर । अन्ततः भुपु र पवनले यो भिडियोको निर्देशन सागरले गर्नुपर्छ भनेपछि सागरमाथी चुनौती थपियो। धेरै भिडियोमा सहायक निर्देशन गरिसकेका सागरले निर्देशनको पुरा जिम्मा भने यही गीतबाट पाए। भुपुले गीतको एक लाइन स्टोरी सागरलाई सुनाए। निर्देशन गर्न सक्छु कि सक्दिन भन्ने डर भएको तर पनि भिडियो निर्माणको लागि राम्रो टिम खडा भएकोले सक्छु जस्तो लागेको अनुभव त्यसबेला भएको सागर बताउँछन् ।
अन्ततः गीतको भिडियो छायांकनको लागि एउटा टिम खडा भयो । टिममा क्यामरा खिच्ने पाटो योगेश दाहलले सम्हाले । कृयटिभ हेडमा पवन सिंखडा रहे । अभिनय भने भुपु र उषा उप्रेतीले गर्ने कुरो भयो । त्यस्तै, निर्देशनको पाटो सम्हाल्न तयार भए सागर। छायांकनको लागि टिम काठमाडौंबाट अछाम प्रस्थान गर्यो । नचिनेको ठाउँमा भिडियोको दृश्यहरु कसरी खिच्ने होला भन्ने कुराले सागरलाई बाटोमा सतायो ।
केही दिनको यात्रापछि सुटिङ युनिट अछाम पुग्यो। केही डर अनि उत्साहका साथ भिडियोको निर्देशन सुरु गरे सागरले। तर सम्पुर्ण टिमले नै एक आपसमा सल्लाह गर्दै भिडियो छायांकन सिध्याएकोले सागरलाई निर्देशनमा खासै गाह्रो भने भएन। भुपु र उषाले पनि राम्रो अभिनय गरेका कारण पनि सागरलाई निर्देशन गर्न सहज भयो। भिडियोको केही छायांकन भारतमा पनि भयो। समग्रमा गीतको छायांकन सफलताका साथ सम्पन्न भयो ।
छायांकन सकिएपछि टिम काठमाडौं फर्कियो। यता भिडियो एडिटिङको काम सुरु भयो । एडिटिङमा पनि समय दिए सागरले। यति धेरै मिहिनेत गरेको पहिलो काम दर्शकले रुचाउने हुन वा होइनन् भन्ने कुराले सताउन थाल्यो सागरलाई। भिडियो एडिटिङ सम्पुर्ण काम सकिएपछि गीत रिलिज गर्ने सल्लाह भयो। सागरको मनमा भने ढुकढुकीले गति लिन थाल्यो। आफ्नो पहिलो कामको नतिजा दर्शक स्रोताले कस्तो दिने हुन भन्ने कुराको ठूलो डर थियो सागरमा । अन्ततः गीत भुपु पाण्डेको अफिसियल युटुब च्यानलबाट रिलिज भयो।
रिलिजको छोटो समयमै गीतले चौतर्फी राम्रो प्रतिक्रिया पायो। निर्देशकिय पाटोलाई एकदम रुचाइयो। निर्देशकको कामलाई पनि एकदम तारिफ मिल्यो। यो कुराले सागरको मनमा ठूलो हर्ष छायो। उनलाई चलेका निर्देशकबाट पनि राम्रो प्रतिक्रिया मिल्यो। गीतले दर्शक स्रोताको अत्याधिक मन छोयो। कतिको त वास्तविक जीवनसंग पनि मिल्न गयो यो गीत। जसका कारण सागरलाई अझै निर्देशनको पाटोमा अगाडी बढ्ने हौसला थपियो।
दिनप्रतिदिन गीतको अडियो भिडियोको तारिफ बढ्दै गयो। यसरी चौतर्फी राम्रो प्रतिक्रिया मिलेपछि सागरलाई पनि आफ्नो निर्देशनको पाटोमा विश्वास बढ्न थाल्यो। सागरको काम देखेरे उनका दाइ प्रबिन पनि एकदमै खुसी भए। परिवारमा पनि सागरको कामको राम्रो प्रशंसा मिल्यो। सामाजिक सन्जाल फेसबुकमा पनि उक्त गीतको भिडियो सागरलाई ट्याग गर्दै अत्याधिक सेयर भयो ।
यसरी गीतको चौतर्फी चर्चा भएपछि त्यसपछिका प्रोजेक्ट गर्न सागरलाई झन चुनौती थपियो। अझै अबका भिडियो कसरी राम्रोसँग निर्देशन गर्ने, कस्ता कस्ता गीतको भिडियोमा काम गर्ने भन्ने कुरामा घोत्लिन थाले सागर।
गीतको चर्चा हुनेक्रमा एकदिन लोकप्रिय सन्चारकर्मी एवम् कलाकार शिशिर भण्डारीले उक्त गीतको भिडियो हेरेछ्न । शिशिरले पनि भिडियोको तारिफ गर्दै फेसबुकमा सेयर गरे । अनि शिशिरले पनि आफ्नो चर्चित गीत “फोटो फिरिममा”को मेल भर्जनको भिडियो सागरलाई नै निर्देशन गर्न दिने निधो गरे ।
जब सागरलाई शिशिरले यो कुराको प्रस्ताव गरे, तब सागर त एकछिन दंग परेको र विश्वास नै नलागेको बताउँछन् । कुरा अगाडी बढ्यो र फोटो फिरिममाको मेल भर्जको भिडियो सागरले निर्देशन गर्ने टुंगो लाग्यो । यता सागरलाई भने एकदम चुनौती थियो उक्त गीतको भिडियो निर्देशन गर्न । किनभने फोटो फिरिममाको फिमेल भर्जन अत्याधिक हिट भइसकेको थियो भने फिमेल भर्जनकै थुप्रै कभर भिडियो पनि बनिसकेका थिए । तरपनि टिमवर्क अनि फरक ढंगले सागरले उक्त गीतको भिडियो निर्देशन गरे । आफ्नो मिहेनतसंगै टिमको राम्रो सहकार्यका कारण बनेको मेल भर्जनको भिडियो पनि अन्ततः रिलिज भयो । यसबेला पनि सागरको मनमा ठूलो डर थियो, दर्शकले गीतको भिडियो रुचाउने हुन कि होइनन् भनेर। तर भिडियो रिलिजको छोटो समय यानकी २४ घण्टा नबित्दै गीतको भिडियो युटुबको ट्रेन्डिङमा आयो । यो गीतले पनि छोटो समयमै राम्रो प्रतिक्रिया पायो । लगातार युटुब ट्रेन्डिङ २ सम्म पुग्यो उक्त गीत । प्रताप दासको आवाजमा रहेको उक्त गीतको भिडियोमा शिशिर भण्डारी र रिस्ता बस्नेतको उत्कृष्ट अभिनय रहेको छ । भिडियोको निर्देशकिय पाटोलाई लिएर एकदम राम्रो राम्रो प्रतिक्रिया सागरले पाएका छन् ।
यसरी, लगातार २ वटै गीत हिट भएपछि सागरलाई झन हौसला थपिएको छ । आफुले निर्देशन गरेका २ वटै भिडियो अत्याधिक हिट हुनुमा उनी भन्छन् ,“म टिमवर्कमा विश्वास गर्ने मान्छे हुँ। संयोगबस मैले निर्देशन गरेका २ वटै गीतको भिडियो निर्माणमा राम्रो टिमवर्क भयो। हाम्रो टिमको राम्रो सहकार्यका कारण आउटपुट राम्रो निस्कियो। समाजमा भइरहेका कथाहरुलाई पृथक शैलीमा प्रस्तुत गरेका कारण दर्शकले छोटो छ जिन्दगी र फोटो फिरिममाको भिडियोलाई दर्शकले रुचाइदिएको जस्तो लाग्छ ।“
लगातार यसरी दुई वटै गीतबाट सफलता पाएपछि मख्ख छन् सागर यतिबेला । तर आउने दिनमा यी गीतभन्दा अन्य गीत कसरी राम्रो गर्ने भन्ने सोचमा तल्लीन पनि छन् सागर । दर्शकको नजरमा अब्बल निर्देशक सावित भइसकेका सागर भने आफूले अझै धेरै सिक्न बाँकी रहेको बताउँछन् ।
“मैले भरखर सुरुवात गरेको छु, अझै धेरै गर्न र सिक्न बाँकी छ ।” उनी भन्छन्, “आफुले गरेका हरेक कामबाट समाजको यथार्थता चित्रण गर्दै सकारात्मक सन्देश दिने प्रयास हो मेरो। आगामी दिनमा फिल्म मेकिङ पढेर अझै निखारिएर राम्रो काम गर्ने कोशिस गर्ने छु । म्युजिक भिडियो निर्देशनसंगै भविस्यमा फिल्म निर्देशन गर्ने लक्ष्य राखेको छु हेरौं भविष्य कस्तो हुन्छ ।”
आफु यहाँ सम्म आइपुग्नुमा आफ्नो परिवार र टिम मेम्बरको ठूलो साथ सहयोग रहेको सागर बताउँछन। त्यस्तै, भुपु पाण्डे र शिशिर भण्डारीले दिएको अवसरप्रति पनि आभारी छन् सागर। साथै, आफ्नो टिम मेम्बरको सहयोगले पनि यहाँ सम्म आइपुग्न मद्दत गरेको र आगामी दिनमा टिमबाट धेरै साथ, सहयोगको अपेक्षा सागरले गरेका छन् ।