काठमाडौं : दिनेश राउत निर्देशित चलचित्र ‘पुजार सार्की’को पहिलो गीत रिलिज गरिएको छ। निर्माण टिमले शुक्रबार ‘दर्शन गरेँ’ बोलको कौडा गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरेको हो।
गीतमा लोकप्रिय गायक प्रकाश सपूत र गायिका शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ। गीतका शब्द हर्क साउदले लेखेका हुन्। संगीत भने सुवास भुसालको रहेको छ। मगर समुदायको कौडा नृत्यमा आधारित छ गीत।
यता भिडियोमा भने ‘पुजार सार्की’का मुख्य कलाकारहरुलाई देख्न सकिन्छ। आर्यन सिग्देल, प्रदीप खड्का पल शाह, अन्जना बराइली र परीक्षा लिम्बूको आकर्षक नृत्य भिडियोमा रहेको छ। यि मुख्य कलाकारहरुको छमछमी नृत्यले मनै लोभ्याउँछ। भिडियोमा आर्यनको जोडी अन्जना र प्रदीपको जोडी परीक्षा रहेका छन्।
कास्कीको धम्पुसमा छायांकन गरिएको गीतको भिडियो निकै आकर्षक छ। पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल, मौलिक घर, मौलिक पहिरनले भिडियो हेर्दा छुट्टै आनन्दको आभाष हुनेगर्छ। भिडियोका कोरियोग्राफर शिशिर खाती हुन्।
फर्स्टलुक पोस्टरबाटै चर्चा पाएको ‘पुजार सार्की’का यस् अघि रिलिज भएका क्यारेक्टर पोस्टरहरु र टिजरलाई दर्शकले औधी मन पराएका छन्। अब भने दर्शकहरु ट्रेलर र पूरा चलचित्रको पर्खाइमा रहेका छन्। किङ्डम नेटवर्कको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी जेठ १० गते बिहीबार (बुद्ध जयन्ती)को दिनदेखि विश्वव्यापी एकसाथ रिलिज हुँदैछ।
चलचित्रमा विकास सुवेदीको कथा रहेको छ। सुवास भुसाल निर्माता रहेको चलचित्रलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्दैछ।भने अन्तर्राष्ट्रिय रुपमा चाहिँ एमएमएस इन्टरटेन्मेन्टले वितरण गर्नेछ। चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइनर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेन हुन्।
सामाजिक तथा मौलिक कथावस्तुमा आधारित यो चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन्। सम्पादन भने भरत रेग्मीले गरेका हुन्। सुप्रीम पराजुलीले चलचित्रको रंग संयोजन गरेका छन्।
फिल्मीपत्र
प्रतिक्रिया