
काठमाडौं : आगामी वैशाख १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बोक्सीको घर’को चर्चा यतिबेला ह्वात्तै बढेको छ। फिल्मको ‘बुझिनँ मैले’ बोलको गीत त यतिबेला जताततै लोकप्रिय नै छ। रिलिज भएको २ हप्तामै ४५ लाख बढी भ्युज गीतले युट्युबमा प्राप्त गरेको छ।
गीतको लोकप्रियता बढीरहेकै समयमा निर्माण टिमले ट्रेलर रिलिज गरेको थियो। ट्रेलरले पनि एक खालको तरंग मच्चाउन सफल भयो। फिल्मकी मुख्य अभिनेत्री केकी अधिकारीको ट्रेलरमा जीवन्त अभिनय छ। पूरा फिल्म कस्तो होला भनेर कौतुहलता बढाउने ट्रेलर यतिबेला भने युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ।

युट्युबको फिल्म सेक्सन अन्तर्गत ट्रेन्डिङको पहिलो नम्बर ‘बोक्सीको घर’को ट्रेलर रहेको छ। सोमबार दिनभर जसो फिल्म सेक्सनको पहिलो नम्बरको ट्रेन्डिङमा दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को टिजर रहेको थियो। तर सोमबार राति भने ‘पुष्पा २’को टिजरलाई पछि पार्दै ट्रेन्डिङको पहिलो नम्बरमा ‘बोक्सीको घर’को ट्रेलर उक्लिन सफल भएको हो।
विदेशी फिल्मलाई पनि पछि पार्दै पहिलो नम्बरमा यसरी नेपाली फिल्म पर्न सफल हुनु भनेको समग्र नेपाली फिल्म उद्योगको लागि गर्वको कुरा हो। ‘बोक्सीको घर’को ट्रेलरलाई युट्युबमा भने हालसम्म १२ लाख बढीपटक हेरिएको छ। प्रतिक्रियाहरु पनि उत्तिकै सकारात्मक छन्।
केकी अधिकारी फिल्मसको ब्यानरमा तयार भनेको यो फिल्ममा केकीका अलावा सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुलक्षण भारती लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। सामाजिक कथामा फिल्म आधारित रहेको छ।
फिल्ममा सुलक्षण भारतीको लेखन र निर्देशन रहेको छ। बद्री अधिकारी फिल्मका निर्माता हुन्। शिवराम श्रेष्ठले खिचेको फिल्मलाई सुलक्षण भारती र लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।
फिल्मको गीत र ट्रेलर एकैसाथ चर्चामा भइरहँदा पूरा फिल्म चाहिँ कस्तो होला भन्ने कौतुहलता यतिबेला सबै दर्शकहरुमा रहेको छ।