काठमाडौं : आज शुक्रबारदेखि दुई नेपाली फिल्महरु एकसाथ रिलिज भएका छन्। रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ र फिडेल देवकोटा निर्देशित फिल्म ‘द रेड सुटकेस’ एकसाथ प्रदर्शनमा आएका हुन्।
‘डिग्री माइला’मा दयाहाङ राई, आँचल शर्मा, कमलमणी नेपाल, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। यो फिल्मलाई हलमा राम्रो शो दिइएको छ। डिग्री पास गरेका बेरोजगार युवाको कथालाई यो फिल्मले रमाइलो तरिकाले उठाएको छ। बलियो स्टरकास्ट भएकोले यो फिल्मले राम्रो व्यापार गर्ने धेरैको आँकलन छ।
उसो त, बिहीबार राजधानीमा यो फिल्मको प्रिमियर शो पनि गरिएको थियो। जहाँ सयौं फिल्मीकर्मीहरु उपस्थित थिए। फिल्मले भरपुर मनोरञ्जन प्रदान गरेको सबैले बताएका थिए। प्रिमियरमा फिल्मले निकै राम्रो प्रतिक्रिया पनि पायो।
यता ‘द रेड सुटकेस’लाई भने हलमा निकै कम शो छ। शोज बाँडफाँडमा विभेद गरेको भन्दै यो फिल्म क्युएफएक्स चेनमा नलगाउने निर्माण टिमले घोषणा समेत गरिसकेको छ। तर क्युएफएक्स बाहेकमा मल्टिप्लेक्समा पनि यो फिल्म लागिरहेको छ।
गाडीमा शवको बाकस लिएर जाने एक ड्राइभरको कथामा फिल्म आधारित छ। फिल्ममा विपिन कार्की,सौगता मल्ल, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडा लगायतको अभिनय रहेको छ। विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा समेत पुगिसकेको यो फिल्मको पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन्।