काठमाडौं : दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज भएको छ। निर्माण टिमले बुधबार फिल्मका मुख्य कलाकारसहितको नयाँ पोस्टर रिलिज गरेको हो।
पोस्टरमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल, प्रदीप खड्का, अन्जना बराइली र परीक्षा लिम्बूलाई प्रस्तुत गरिएको छ। पोस्टरहरु निकै आकर्षक छ। निर्माण टिमले यसपटक भने अभिनेत्रीहरुलाई पोस्टरमा समावेश गरेको छ। यस् अघिका पोस्टरहरुमा फिल्मका अभिनेताहरुलाई मात्र देखाइएको थियो।
आज रिलिज गरिएको पोस्टरमा अन्जना र परिक्षालाई फरक लुक्समा देख्न सकिन्छ। उनीहरू निकै मौलिक भेषमा छन्। ग्रामीण पहिरन निकै सुहाएको पनि छ। उसो त पोस्टरमा देखाइएका सबै कलाकारहरुको लुक्स मौलिक अनि आकर्षक नै छ।
निर्माण टिमले टिजरको रिलिज मिति पनि घोषणा गरेको छ। निर्माण टिमका अनुसार ‘पुजार सार्की’को टिजर आगामी शुक्रबार रिलिज हुँदैछ। प्रदर्शन मिति नजिकिँदै गर्दा विभिन्न सामाग्रीहरु टिमले दर्शकमाझ रिलिज गरिरहेको छ।
फर्स्टलुक पोस्टरबाटै एक खालको चर्चा पाएको ‘पुजार सार्की’लाई लिएर दर्शकहरु निकै प्रतिक्षित छन्। यस् अघि रिलिज गरिएका अफिसियल पोस्टरहरु हुन् या पल शाहको बन्दुक बोकेको फोटो। सबैले चर्चा पाए।
नायक अनमोल केसीको जन्मदिन पारेर फिल्म ‘फर्की फर्की’को पोस्टर रिलिज गरिएको थियो। ठिक त्यही दिन ‘पुजार सार्की’को टिमले पलको बन्दुक बोकेको फोटो आउट गर्यो। अनमोलको पोस्टर भन्दा पलको फोटोले बढी चर्चा पायो। यस् अर्थ पनि यि दुबै फिल्मको प्रतिस्पर्धा छ।
एउटै मितिमा यि दुई फिल्महरु रिलिज हुँदैछन्। अब दर्शकको मन कुन फिल्मले जित्ने हो त्यो त प्रदर्शन पछि नै थाहा होला। उसो त जेठ १० गते नै पूजा शर्मा स्टारर फिल्म ‘दान्वी’ पनि रिलिज हुँदैछ। ३ फिल्मको भिडन्त एकैदिन हुँदैछ।
फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइनर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेन हुन्। किङ्डम नेट्वर्कको ब्यानरमा निर्माण भएको चलचित्रमा विकाश सुवेदीको कथा रहेको छ। सामाजिक कथावस्तुमा बनेको चलचित्रका निर्माता सुभाष भुसाल हुन्।
आर्यन, प्रदीप र पलका अलावा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि फिल्ममा अभिनय रहेको छ।
फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन्। भरत रेग्मीले फिल्मको सम्पादन गरेका हुन् । फिल्मको अन्तर्राष्ट्रिय वितरण राइट्स एमएमएस इन्टरटेन्मेन्टले लिएको छ भने नेपालमा आरआर फिल्मसले लिएको छ।