
काठमाडौं : बहुप्रतिक्षित तेलुगु सिनेमा ‘पुष्पा २’को टिजर रिलिज गरिएको छ। सोमबार १ मिनेट ८ सेकेन्डको टिजर रिलिज गरिएको हो। टिजरमा सिनेमाका मुख्य अभिनेता अल्लु अर्जुन माता कालीको अवतारमा प्रस्तुत छन्। तर उनको स्टाइल चाहिँ पुरानै छ।
साडी लगाएर, हातमा त्रिशुल लिएर, शरीरभरि विभिन्न माला लगाएर, आँखामा गाजल लगाएर दुश्मनसँग जोडतोडले भिडिरहेको अल्लुलाई टिजरमा देख्न सकिन्छ। टिजर निकै पावरफुल लाग्छ। ब्याकराउन्ड म्युजिक पनि सशक्त छ। टिजरमा भव्य सेट देख्न सकिन्छ। दुश्मनसँग अल्लु भिडिरहेको पृष्ठभूमि धार्मिक स्थल छ।
आउँदो अगस्ट १५ अर्थात् साउन ३१ गते ‘पुष्पा २’ रिलिज हुँदैछ। यो सिनेमालाई लिएर विश्वभरका दर्शकहरु निकै उत्साहित छन्। सन २०२१ मा ‘पुष्पा’को पहिलो भाग निकै सफल भएको थियो। यो सिनेमालाई सुकुमारले निर्देशन गरेका हुन्।
सिनेमामा अल्लुका अलावा अभिनेत्री रश्मिका मन्दानाको पनि मुख्य भुमिका रहेको छ। राव रमेश, धनन्जय, फहाद फाजिल लगायतका कलाकारको पनि सिनेमामा अभिनय रहेको छ।