
काठमाडौं : फर्स्टलुक पोस्टर आउट भएसँगै एक खालको चर्चा बटुल्न सफल चलचित्र हो ‘पुजार सार्की’। यो चलचित्रलाई लिएर दर्शकहरु निकै उत्साहित छन्। उसो त चलचित्रको नामले नै साराको ध्यान खिचेको छ यतिबेला।
यसैबीच, निर्माण टिमले यो चलचित्रका दुई नयाँ पोस्टरहरु रिलिज गरेको छ। आज शुक्रबार दुई फरकफरक पोस्टरहरु रिलिज गरिएको हो। निर्माण टिमले पोस्टर मात्रै रिलिज गरेको छैन, प्रदर्शन मिति समेत घोषणा गरेको छ।

पोस्टरमा लेखिएको मिति अनुसार ‘पुजार सार्की’ अब आगामी नयाँ वर्षको जेठ १० गतेदेखि नेपाल लगायत विश्वभर प्रदर्शन हुनेछ। नेपालसँगै विश्वभरका हलहरुमा अब एकैसाथ यो चलचित्र हेर्न सकिनेछ।
रिलिज गरिएका पोस्टरमा चाहिँ चलचित्रका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई देख्न सकिन्छ। निकै आकर्षक लाग्छन् पोस्टरहरु। एउटा पोस्टरमा आर्यन,प्रदीप र पल गाउँले पहिरनमा गफ गर्दै बसिरहेका देखिन्छन्। उनीहरूको पृष्ठभूमिमा हिमाल पनि छ। गाउँले पहिरनमा निकै हर्षित मुद्रामा छन् उनीहरू।
यता अर्को पोस्टरमा भने प्रदीप दमाह बजाउँदै गरेको अवस्थामा छन्। प्रदीपको एकातिर आर्यन उभिएका छन् भने अर्कोतिर पल रहेका छन्। यि तिनैजना निकै मिलनसार देखिएका छन्।

झट्ट पोस्टर हेर्दा नै चलचित्रको कथा आभाष गर्न सकिन्छ। जसको लागि पब्लिसिटी डिनाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले पोस्टर डिजाइनमा निकै मिहेनत गरेका छन्। उनको अथवा मिहेनत देखिन्छ पोस्टरमा।
पोस्टरको लागि मात्रै एक हप्ता बढी मध्यरातसम्म पनि खटिएर यो चलचित्रका निर्देशक दिनेश राउत, वितरक रोहित कट्टेलको साथमा मिहेनत गरेको रोयल बताउँछन्। त्यसो त, पेन्टिङ मार्फत रोयलले डिजाइन गरेको यो चलचित्रको फर्स्टलुक निकै चर्चित बनेको थियो।
चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन्। किङ्डम नेट्वोर्कको ब्यानरमा निर्माण भएको चलचित्रमा विकाश सुवेदीको कथा रहेको छ। सामाजिक कथावस्तुमा बनेको चलचित्रका निर्माता सुभाष भुसाल हुन्।
आर्यन, प्रदीप र पलका अलावा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि चलचित्रमा अभिनय रहेको छ।
चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन्। सुप्रीम पराजुलीले चलचित्र सम्पादन गर्दैछन्। चलचित्रको अन्तर्राष्ट्रिय वितरण राइट्स एमएमएस इन्टरटेन्मेन्टले लिएको छ भने नेपालमा आरआर फिल्मसले लिएको छ।