काठमाडौं : यतिबेला चलचित्र ‘महाजात्रा’ दोस्रो हप्तामा प्रदर्शनरत छ। गत चैत्र ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र भोलि शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गर्दैछ। तेस्रो हप्तामा प्रवेश गर्दापनि हलमा दर्शकको भिड दिनानुदिन बढ्दो छ।
राजधानी लगायत बाहिरी शहरमा ‘महाजात्रा’ शोहरु प्रायः हाउसफुल छन्। बच्चादेखि वृद्धसम्मका दर्शकहरुलाई हलमा भेट्न सकिन्छ। त्यसो त, चलचित्र हेर्न आउने दर्शकहरुलाई भेट्न ‘महाजात्रा’को टिम प्रदर्शनको दिनदेखि नै हल भिजिटमा निस्किरहेको छ। यसैबीच, बुधबार राति पनि टिम हलमै थियो।
चाबहिल स्थित एफक्यूब सिनेमाले ‘महाजात्रा’लाई बुधबार राति १०:३० बजेको शो दिएको थियो। उक्त शो मध्यरातको २ बजे सकिएको थियो। रातिको शो भएपनि दर्शकले भरिएको थियो हल। रातिमा समेत ‘महाजात्रा’लाई माया गरेर हेर्न आउने दर्शक भेट्न टिम मध्यरातको २ बजे हल पुगेको थियो।
टिमका अनुसार हल पुग्दै गर्दा उत्साहित हुँदै दर्शकहरुले चलचित्र हेरिरहेका थिए। चलचित्रले दिएको भरपुर मनोरञ्जनले गर्दा कत्ति पनि झर्को र निन्द्रा नलागेको दर्शकले बताए। जब चलचित्र सकियो तब टिम दर्शक अगाडि पुगेको थियो। पर्दामा देखिएका कलाकारहरु आँखै अगाडि देख्दा दर्शकहरु निकै उत्साहित हुँदै हुटिङ र तालीले स्वागत गरेका थिए।
खुशी हुँदै ‘महाजात्रा’का कलाकारसँग दर्शकहरुले सेल्फी लिएका थिए। सेल्फी लिँदै चलचित्र राम्रो भएको र हाँस्दाहाँस्दै रुवाएको प्रतिक्रिया पनि दर्शकहरुले दिएका थिए। दिउँसो अफिसको कामले नभ्याएको र टिकट पनि नपाएकोले रातिको शो हेर्न आएको सबै दर्शकको भनाइ थियो।
उसो त राति एफक्यूब सिनेमा हल पुगेका ‘महाजात्रा’का निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ पनि दर्शकहरुको बाक्लो उपस्तिथि देख्दा निकै खुशी देखिन्थे। यसरी मध्यरातमा दर्शक भेट्न आएको आफ्नो पहिलो अनुभव भएको उनले बताए।
‘दिउँसो त हलमा दर्शकहरु भेटेकै हो। तर यसरी मध्यरातमा दर्शक भेटेको पहिलो अनुभव हो’, रवीन्द्रले फिल्मीपत्रको कुराकानीमा भने, ‘यो बिल्कुल नौलो अनुभव भयो। मध्यरातमा त्यही पनि रातिको २ बजे हलमा दर्शकहरूको बाक्लो उपस्तिथि देख्दा औधी खुशी लाग्यो। खासमा यसरी नेपाली चलचित्रलाई मध्यरातमा शो कमै दिइन्छ। अझ भनौं नेपाली चलचित्रलाई मध्यरातमा शो नै दिइन्न। तर महाजात्राले यो सौभाग्य पायो। हाम्रो लागि यो एउटा इतिहास जस्तै बनेको छ। चलचित्र चलेको उत्सव रातिको २ बजे हलमा दर्शकहरूसँग बाँड्नु भएको हाम्रो लागि निकै ठुलो सफलता हो। यो क्षण हामी जीवनभर याद गर्नेछौं। जसको लागि शो उपलब्ध गराउने हल र माया गरेर हेर्न आउने सम्पूर्ण दर्शकहरुप्रति मनैदेखि नमन व्यक्त गर्दछु।’
दर्शक भेट्नको लागि ‘महाजात्रा’का निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ, प्रोडक्सन म्यानेजर रुपक प्रताप अधिकारी लगायत ट्राइडेन्ट कन्सेप्टको टिम मध्यरातमा हल पुगेको थियो। टिमले एफक्युब हलमै सकिएको रातिको ११:४५ बजेका दर्शकहरुसँग पनि भेटघाट गरेको थियो।
यता हलले पनि दिउँसोका सबै शो हाउसफुल भएकोले दर्शकको मागलाई मध्यनजर गर्दै रातिको शो उपलब्ध गराएको बताएको छ। बुधबार एफक्यूबमा दिनभरका शोहरु हाउसफुल थिए।
राम्रो प्रतिक्रिया पाउँदै बक्स अफिसमा गजबको व्यापार गरिरहेको ‘महाजात्रा’का लेखक तथा निर्देशक प्रदीप भट्टराई हुन्। चलचित्रमा आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको छ। चलचित्रको पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) हुन्।
चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । कार्यकारी निर्मातामा रवीन्द्र सिंह बानियाँ रहेका छन्। यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।