काठमाडौं : यतिबेला नेपाल लगायत विश्वभरका हलहरुमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महाहात्रा’ लागिरहेको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मले निकै राम्रो व्यापार गरिरहेको छ। दर्शकहरुको माया पनि उत्तिकै पाइरहेको छ।
चौतर्फी चर्चासँगै हाउसफुल व्यापार गरिरहेको समयमा ‘महाजात्रा’ टिमले अर्को फिल्म निर्माण गर्ने घोषणा गरेको छ। मंगलबार फिल्मको नयाँ गीत सार्वजनिक गर्दै षट्कोण आर्ट्सले नयाँ फिल्म बनाउने घोषणा गरेको हो। सार्वजनिक ‘साथी’ बोलको गीत अन्तिमसम्म हेर्ने हो भने पछाडि ‘अब २०८२ को दशैंमा भेटौंला’ भनेर लेखिएको छ। जुन कुराले यतिबेला सबैलाई कौतुहलता प्रदान गरेको छ।
२०८१ सालको दशैंमा पनि लगभग ३/४ वटा नेपाली फिल्महरु आउँदैछन्। त्यस्तै, २०८२ को दशैंमा चाहिँ निर्देशक निश्चल बस्नेतले ‘दिमाग खराब २’ बनाउने घोषणा नै गरिसकेका छन्। यही होडबाजीमा षट्कोण आर्ट्सले पनि ८२ सालको दशैं बुक गरिसकेको छ।
हलमा ‘महाजात्रा’ प्रदर्शन भएको १ हप्ता पनि नहुँदै षट्कोण आर्ट्स टिमले नयाँ फिल्म बनाउने कुरा बाहिरिएपछि यतिबेला धेरैले ‘जात्रा’को चौथो सिक्वेल बन्न लागेको होकि भनेर आँकलन गरेका छन्।
निर्माण र प्रदर्शन मिति घोषणा गर्ने तर फिल्म बनाउन आनाकानी गर्ने होडबाजी चलिरहेको पछिल्लो समयमा ८२ सालको दशैंमा षट्कोण आर्ट्सले साँच्चिकै फिल्म बनाउन लागेको होकि त्यतिकै बुक गरेको हो ? भन्ने बारे निर्देशक प्रदीप भट्टराईसँग बुझ्दा नयाँ फिल्म बनाउने योजना अघि बढेको बताए।
‘अहिले टिमसँग एक खालको प्लानिङ भईरहेको छ’, निर्देशक भट्टराईले भने, ‘स्क्रिप्टको कामलाई अघि बढाउने कुरा हुँदैछ। पुरानो र नयाँ आइडियामा अहिले काम भइरहेको छ। ८२ को दशैंमा हाम्रो टिमको नयाँ फिल्म आउने पक्का हो। तर त्यो फिल्म जात्राको चौथो सिक्वेल पनि हुनसक्छ, नयाँ फिल्म पनि हुनसक्छ। ठ्याक्कै अहिले एकिन चाहिँ भएको छैन। अहिले महाजात्रालाई दर्शकले माया गरिरहनुभएको छ। पहिला महाजात्राको प्रदर्शन राम्रोसँग होस्, त्यसपछि सबैलाई नयाँ फिल्मको जानकारी दिउँला नि।’
‘टलकजँग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रैजात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सुपरहिट फिल्म निर्माण गरिसकेको षट्कोण आर्ट्सले अब छैटौं फिल्म कस्तो बनाउला सबैलाई उत्सुकता छ। आशा गरौं ८२ सालको दशैंमा दर्शकले एउटा राम्रो फिल्म हेर्न पाउनेछन्।