
काठमाडौं : शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ले यतिबेला हलमा आक्रमक व्यापार गरिरहेको छ। प्रदर्शनको पहिलो दिनमै चलचित्रले १ करोड २३ लाख ग्रस कलेक्सन गर्न सफल भयो।
हलमा चलचित्रले हाउसफुल व्यापार गरिरहँदा ‘महाजात्रा’ टिमले हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिने काम पनि गरिरहेको छ। चलचित्रको पर्दामा देखिने कलाकारहरु आँखै अघि देख्दा दर्शकहरु पनि निकै उत्साहित भइरहेका छन्। शनिबार बिहानैदेखिका शोहरु हाउसफुल थिए। शुक्रबार झैँ चलचित्रको टिम शनिबार पनि राजधानीका विभिन्न हलमा पुगेको थियो।

यतिबेला हलमा ‘महाजात्रा’ हेर्न आउने दर्शकको ‘महाभिड’ छ। धेरै समयपछि राम्रो चलचित्र हलमा लागेको भन्दै दर्शकहरु ‘महाजात्रा’ हेर्न उर्लिएका छन्। नेपालमा मात्र होइन विदेशमा समेत ‘महाजात्रा’का अधिकांस शोहरु हाउसफुल छन्।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको छ। चलचित्रको पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) हुन्।

चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । कार्यकारी निर्मातामा रवीन्द्र सिंह बानियाँ रहेका छन्। यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।