काठमाडौं : आज शुक्रबारदेखि बहुप्रतिक्षित चलचित्र ‘महाजात्रा’ प्रदर्शनमा आएको छ। नेपाल लगायत विश्वभर एकसाथ प्रदर्शनमा आएको चलचित्रलाई शुक्रबार बिहानैदेखि दर्शकको राम्रो साथ मिलिरहेको छ।
यसैबीच, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि ‘महाजात्रा’लाई शुभकामना दिँदै हेर्ने इच्छा व्यक्त गरेका छन्। शुक्रबार बिहान ओलीले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै चलचित्रलाई शुभकामना दिएका हुन्।
‘हरिवंश आचार्य मलाई मनपर्ने कलाकार हुनुहुन्छ’, ओलीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘हरिवंश आचार्य मलाई मन पर्ने कलाकार हुनुहुन्छ। आजदेखि उहाँको महाजात्रा चलचित्रको प्रदर्शन हुने रहेछ। अघि सामाजिक सञ्जालमा पोष्टर हेरेँ। यो फिल्ममा पछिल्लो पटक धेरैले प्रशंसा गरेका डाइरेक्टर प्रदीप भट्टराईको कला र अत्यन्तै राम्रो अभिनय भएका अभिनेता विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र अभिनेत्री वर्षा राउतको अभिनय एकै पटक हेर्न पाइने रहेछ। समय मिलेमा म पनि हेर्छु।’
नेपाली चलचित्रलाई साथ अनि माया गरेकोमा धन्यवाद भन्दै धेरैले ओलीको स्टाटसमा कमेन्ट गरेका छन्। उसो त ओलीले प्रायः नेपाली चलचित्रहरु प्रदर्शन हुनेबेला शुभकामना आफ्नो फेसबुक पेजमा दिइरहेका हुन्छन्।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको छ। चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । कार्यकारी निर्मातामा रवीन्द्र सिंह बानियाँ रहेका छन्। यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।