
नेपालगन्ज : यस् वर्षकै बहुप्रतिक्षित चलचित्र हो ‘महाजात्रा’। प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको यो चलचित्रको भोलि शुक्रवारदेखि नेपाल लगायत विदेशका ४० बढी शहरहरुमा एकसाथ प्रदर्शन हुँदैछ।
मंगलबार काठमाडौंमा प्रिमियर शो भएलगत्तै ‘महाजात्रा’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो। बुकिङ खुल्ला भएसँगै यतिबेला टिकट खरिद गर्नेको संख्या ह्वात्तै बढेको छ। नेपालका विभिन्न सिनेमा हलहरुमा चलचित्रको शो उच्च छ। यसैबीच, नेपालगन्जमा पनि ‘महाजात्रा’लाई राम्रो शोज दिइएको छ।
नेपालगन्जको सिने रोयलमा चलचित्रलाई ९ शोज दिइएको छ। जसमध्ये शुक्रबारको पहिलो ८ बजेको शो हाउसफुल भइसकेको छ। प्रदर्शनको अघिल्लो दिन आज बिहीबार नै सिने रोयलमा पहिलो दिनको पहिलो शो हाउसफुल भएको हो। पहिलो शो’को सबै टिकट बिक्री भइसकेका छन्।
सायद सिने रोयलमा प्रदर्शन अगावै शो हाउसफुल भएको यो पहिलो रेकर्ड हो। यो रेकर्डलाई आँकलन गर्ने हो भने नेपालगन्जमा ‘महाजात्रा’ले आक्रमक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ।
नेपालगन्जमा क्युएफएक्स सिनेमाजले पनि ‘महाजात्रा’लाई राम्रो शोज दिइएको छ। क्युएफएक्स बागेश्वरीमा चलचित्रलाई ६ शोज दिइएको छ।