धरान : यस वर्षको बहुप्रतिक्षित चलचित्र हो ‘महाजात्रा’। यो चलचित्रलाई लिएर दर्शकहरु निकै उत्साहित छन्। चलचित्रको टिम पनि उत्तिकै उत्साहित छ। चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसारलाई पनि टिमले निकै तिब्रता दिएको छ।
काठमाडौंमा एउटा टिम प्रचारप्रसारमा खटिएको छ भने अर्को टिम मोफसल टुरमा छ। मोफसलका दर्शकसँग भेटघाट तथा साक्षात्कार गर्ने उद्देश्यले झापाको विर्तामोडबाट ‘महाजात्रा’ टिमले दोस्रो चरणको प्रमोसन यात्रा सुरु गरेको हो।
पूर्वी नेपालमा टुर गरिरहँदा ‘महाजात्रा’लाई लिएर दर्शकहरु निकै पर्खाइमा रहेको पाइएको छ। हल व्यवसायीहरु पनि यो चलचित्रबाट निकै आशावादी रहेका छन्। प्रचारप्रसार पनि पूर्वमा व्यापक भइरहेको छ। यात्रा गर्ने क्रममा टिमले सडकमा मकै पोलेर बेच्ने व्यापारीदेखि उच्च तहका व्यक्तिहरूसँग भेटघाट गरेको छ। भेटघाट पश्चात् टिमले ‘महाजात्रा’को टिसर्ट समेत उपहार स्वरुप प्रदान गर्दै हिडेको छ।
मंगलबार धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङसँग भेटघाट गरेको टिमले बुधबार विर्तामोडका मेयर एवम् पत्रकारहरुसंग साक्षात्कार गर्यो। त्यस्तै, बिहीबार भने दमकमा रहेको डिम्याक्स सिनेमा हलका टिमसँग कुराकानी गरेपछि इटहरी फर्किने क्रममा फुटपाथमा व्यापार गर्ने व्यापारीहरुसँग कुराकानी गर्दै ‘महाजात्रा’ टिम इटहरी फर्केको हो।
यसरी हेर्ने हो भने, पूर्वी नेपालमा ‘महाजात्रा’को प्रचारप्रसारमा कुनै पनि कसर बाँकी रहेको छैन। सडकमा मकै पोल्ने व्यापारीदेखि मेयरसम्म चलचित्रको प्रचारप्रसार गरिएको छ। चलचित्र आगामी चैत्र ९ गतेदेखि प्रदर्शनमा आउँदैछ।