धरान : चलचित्र ‘महाहात्रा’को टिमले धरानका मेयर हर्क साङपाङसँग सिनेमा संवाद कार्यक्रम सम्पन्न गरेको छ। चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाको आयोजनामा ‘नेपाली चलचित्र र स्थानीय सरकार’ विषयक संवाद कार्यक्रम मंगलबार सभ्य तरिकाले सम्पन्न भएको हो।
कार्यक्रममा ‘महाजात्रा’का कलाकारहरुले सुटिङको क्रममा स्थानीय स्तरमा भोग्नुपरेको समस्या सुनाएका थिए। कलाकारको समस्या सुनेपछि मेयर साङ्पाङले धरानमा चाहिँ त्यस्तो समस्या नहुनेमा कलाकार ढुक्क रहन प्रतिबद्धता दिएका थिए।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले नेपाली चलचित्रको बारेमा आफूले गम्भीर रुपमा सोचेको भन्दै कतिपय कुरामा बजेटको समस्या भएको बताए । तर, आफूले सक्ने काम गर्ने बाचा उनले गरे । साथै, उनले चलचित्र छायांकनका लागि सहज हुने गरि आफूले चाँडै नै सुटिङका स्थलहरू समावेश गरेर सानो डायरी सार्वजनिक गर्ने समेत बताएका छन् । आफू नेपाली कला, संकृतीको विकासमा जहिले पनि गम्भीर रहेको बताएका थिए ।
हलमा गएर, चलचित्र हेरेर कलाकारलाई माया गर्न पनि साङ्पाङले धरानका दर्शकहरुलाई आग्रह गरेका थिए। कार्यक्रममा ‘महाजात्रा’को तर्फबाट बेल्चा समेत उपहार गरिएको थियो। श्रममा निकै खटिने मेयर भएकोले सानो उपहार बेल्चा प्रदान गरिएको ‘महाजात्रा’ टिमले जनाएको छ।
बेल्चासँगै ‘महाजात्रा’को टिसर्ट समेत मेयर साङ्पाङलाई उपहार दिइएको थियो। बेल्चा र टिसर्ट उपहार चाहिँ ‘महाजात्रा’का मुख्य कलाकार हरिवंश आचार्यको हातबाट प्रदान गरिएको थियो। बेल्चा उपहार पाउँदा मेयर चाहिँ मुसुक्क मुस्काएका थिए।
संवाद कार्यक्रममा ‘महाजात्रा’का मुख्य कलाकार हरिवंश आचार्यका अलावा निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा र प्रोडक्सन म्यानेजर रुपक प्रताप अधिकारीको उपस्तिथि रहेको थियो। कार्यक्रमको सहजीकरण चाहिँ चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष विजय आवाजले गरेका थिए।