काठमाडौं : रिलिज मिति नजिकिँदै गर्दा चलचित्र ‘महाजात्रा’ टिम यतिबेला प्रचारप्रसारमा निकै व्यस्त छ। पहिलो चरणको प्रमोसन टुर सक्काएको टिमले यहीँ ३० गतेदेखि विर्तामोडबाट दोस्रो चरणको टुर गर्दैछ।
यसैबीच, निर्माण टिमले अर्को नयाँ पोस्टर आउट गरेको छ। मंगलबार निर्माण टिमले नयाँ क्यारेक्टर पोस्टर रिलिज गरेको हो। पोस्टरमा चलचित्रका मुख्य पात्रहरू मुन्ना ठाकुर, फणीन्द्र तिमल्सिना र जयराम लामिछाने(जोयस)हरु निकै दुखित अवस्थामा देखिएका छन्।
तिनै पात्रहरू सोचनीय अवस्थामा छन्। उनीहरू ट्यांकरको पछाडि बसिरहेका छन्। ट्यांकरको पछाडि साहित्य पनि लेखिएको छ। ‘मेलम्चीको पानी सम्झिने नानी, ट्यांकरको लानी भात पकाएर खानी’- यो चाहिँ पछाडी लेखिएको साहित्य हो।
त्यस्तै, ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ पनि ट्यांकरको पछाडि लेखिएको छ। जसले चलचित्रको केही कथालाई दर्शाएको छ। उसो त, चलचित्रका मुख्य कलाकार हरिवंश आचार्यलाई पनि पोस्टरमा देखाइएको छ। उनी व्हिलचेयरमा रहेका छन्।
प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको ‘महाजात्रा’ आगामी चैत्र ९ गतेदेखि प्रदर्शन हुँदैछ। षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्रमा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलको लगानी रहेको छ। कार्यकारी निर्मातामा रवीन्द्र सिंह बानियाँ रहेका छन्।
चलचित्रमा हरिवंश आचार्य, रवीन्द्र सिंह बानियाँ, विपिन कार्की, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ।