
काठमाडौं : सोमबार वरिष्ठ कलाकार हरिवंश आचार्य झापाको विर्तामोडमा थिए। ‘छैटौं झापा गोल्ड कप २०८०’ को फाइनलको दिन विशिष्ट अतिथिको रुपमा उपस्थित हुन कलाकार आचार्य विर्तामोड पुगेका हुन्।
फाइनल खेल हुनु पूर्व हरिवंशले मन्तव्य राखेका थिए। उनले खेलकुद एउटा भाषा भएको र जून संसारले बुझ्न सक्ने बताएका थिए। साथै उनले देशप्रेम बढाउने ठूलो माध्यम भनेकै खेलकुद रहेको बताए।

मन्तव्यकै क्रममा उनले व्यंग्य गर्दै झापामा गोल्डकप चलिरहँद अहिले देशमा ठूलो झुठबल चलिरहेको बताए। झुठबललाई फुटबलले जित्नुपर्छ भन्ने धारणा उनको थियो। ‘ठूलो झुठबल देशमा चलिरहेको यो समयमा महाजात्राले झुठबल प्रति गतिलो प्रहार गरेको छ।’, उनले भने ‘महाजात्राले देशमा झुठबल हुनुहुँदैन भन्ने संदेश दिएको छ। वर्तमान परिप्रेक्ष्यलाई चलचित्रमा देखाइएको छ। चैत्र ९ गते रिलिज हुँदैछ सबैजनाले हलमा गएर हेरिदिनुहोला।’
उनले फाइनल खेक अन्तिमसम्म हेरेका थिए। चर्च ब्वाइज यूनाइटेड र एपिएप क्लबबीच भएको फाइनल खेलमा ३-० गोल अन्तरले चर्च ब्वाइज टिम च्याम्पियन बन्न सफल भएको हो। विजेता खेलाडीहरूलाई हरिवंशले विभिन्न पुरस्कार तथा अवार्ड पनि प्रदान गरेका थिए।
विर्तामोडको कार्यक्रम सक्काएर हरिवंश आज मंगलबार विराटनगर फर्केका छन्। विराटनगर ‘महाजात्रा’को बारेमा पत्रकारसँग भेटघाट गरेपछि उनी बेलुका धरान पुग्नेछन्। धरानमा आज चलचित्र पत्रकार संघ नेपाल इटहरी शाखाको आयोजनामा ‘सिनेमा संवाद’ कार्यक्रम हुँदैछ।
‘सिनेमा संवाद’ कार्यक्रममा हरिवंशका अलावा ‘महाजात्रा’का लेखक तथा निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ, कलाकार विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा लगायतको टिम पनि रहनेछ। कार्यक्रममा धरानका मेयर हर्क साङ्पाङको समेत उपस्तिथि रहनेछ।