काठमाडौं : आगामी चैत्र ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाजात्रा’को टिम यतिबेला पोखरामा छ। प्रचारप्रसारको लागि कमेडी च्याम्पियन टिमसँग मिलेर गर्न लागेको ‘महाकमेडी यात्रा’को लागि टिम सोमबार पोखरा पुगेको हो।
आइतबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर रिलिज गरेको टिमले सोमबारदेखि ‘प्रमोसन टुर’ गर्दैछ। नेपालका विभिन्न शहरमा रहेका दर्शकसँग साक्षात्कार गर्ने उद्देश्यले ‘महाजात्रा’ टिमले ‘महाकमेडी यात्रा’ गर्न लागेको हो। यात्राको पहिलो दिन ‘महाजात्रा’ टिमसँगै कमेडी च्याम्पियन टिमले पोखराको सभागृह हलमा आज सोमबार बेलुका ६ बजेदेखि ९ बजेसम्म कमेडी नाइट कार्यक्रम गर्दैछ।
प्रमोसन टुरको लागि चलचित्र टिमको तर्फबाट निर्देशक प्रदीप भट्टराई, निर्माता म्याक्स दिपेश खत्री, कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँ, कलाकार हरिवंश आचार्य, अभिनेत्री वर्षा राउत, प्रोडक्सन म्यानेजर रुपक प्रताप अधिकारी लगायतका मेम्बर निस्किएका छन्। त्यस्तै, कमेडी च्याम्पियन टिमको तर्फबाट दीपाश्री निरौला, विशाल भण्डारी, सुमन कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, सुमन कोइराला लगायतका कलाकारहरु टुरमा रहेका छन्।
आज पोखराको साक्षात्कार कार्यक्रमपछि सम्पूर्ण टिम २३ गते बुटवल पुग्नेछ।