
काठमाडौं : अभिनेत्री प्रियंका कार्कीको मंगलबार जन्मदिन थियो। दिनभर उनलाई सामाजिक संजालमा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका थिए। यसैबीचमा प्रियंकाले एउटा सप्राइज दिइन्। उनले नयाँ सर्ट फिल्मको फर्स्टलुक पोस्टर रिलिज गरेर उनका फ्यान एवम् दर्शकलाई सप्राइज दिएकी हुन्।

प्रियंकाले आफ्नो सामाजिक संजाल फेसबुकमा सर्ट फिल्म ‘टाँक’का दुई फरकफरक पोस्टर रिलिज गरेकी हुन्। ‘जन्मदिनमा यहाँहरुमाझ मेरो यो नयाँ कोसेली’, प्रियंकाले पोस्टर सेयर गर्दै फेसबुकमा लेखेकी छिन्। उनले यति राम्रो स्क्रिप्ट, परिकल्पना र कार्यान्वयनको लागि निर्देशक साम्तेन भुटियालाई धन्यवाद समेत दिएकी छिन्।
पोस्टरमा प्रियंकालाई गाउँले नारीको भेषमा देख्न सकिन्छ। मुहारभरी पीडा बोकेर टोलाइरहेकी गाउँले नारीको रुपमा प्रियंका छिन्। साथमा एक छोरा पनि छन्। छोरालाई साथमा राखेर कसैको बाटो कुरेर बसिरहेको जस्तो पनि देखिएकी छिन् उनी। समग्रमा पोस्टरलाई नियाल्दा एउटा गाउँले कथावस्तुमा सर्ट फिल्म आधारित रहेको अनुमान लगाउन सकिन्छ।

फर्स्टलुक पोस्टर चाहिँ रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले डिजाइन गरेका हुन्। निकै कलात्मक छ पोस्टर। पोस्टरबाटै सर्ट फिल्मले बोक्न चाहेको कथालाई भिमसेनले उत्कृष्ट तरिकाले झल्काएका छन्। फर्स्टलुक पोस्टरले नै दर्शकको ध्यान खिच्छ।
आयंका फिल्म्सको व्यानरमा निर्माण भएको सर्ट फिल्ममा कथा, परिकल्पना र निर्देशन साम्तेन भुटियाको रहेको छ। आयुषमान जोशीको छायांकन रहेको सर्ट फिल्ममा प्रियंका र आयुष्मानको लगानी रहेको छ। प्रियंकाका अलावा सर्ट फिल्ममा रोयल केसी, एलेक्स केसी, अरुण रेग्मी, घनश्याम जोशी र रेनु योगीको पनि अभिनय रहेको छ।