
काठमाडौं : प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’को यतिबेला प्रचारप्रसार गर्न सुरु गरिएको छ। टिमले मोफसल टुर गर्ने तयारी गर्दै गर्दा नयाँ पोस्टर पनि रिलिज गरेको छ। मंगलबार निर्माण टिमले फिल्मको एक नयाँ पोस्टर रिलिज गरेको हो।
रिलिज गरिएको पोस्टरमा फिल्मका मुख्य पात्र फणीन्द्र र सम्पदाको परिवारलाई झल्काइएको छ। जहाँ खुशी मुद्रामा छन् फणीन्द्र र सम्पदा। यो जोडीको कोठाको परिदृश्यलाई पोस्टरलाई आकर्षक तरिकाले समावेश गरिएको छ। पोस्टरलाई नियाल्ने हो भने भित्तामा फणीन्द्र र सम्पदाका छोराछोरीलाई पनि देख्न सकिन्छ। छोराछोरीसँग खुशी मुद्रामा फणीन्द्र र सम्पदाले खिचाएका फोटोफ्रेमले कोठा सजाइएको छ।

‘जात्रा’मा सानै देखिने फणीन्द्र र सम्पदाका छोरा ‘महाजात्रा’मा ठुलो भइसकेको आभाष रिलिज गरिएको पोस्टर हेर्दा हुन्छ। जहाँ फणीन्द्र र सम्पदाको भुमिकामा कलाकार विपिन कार्की र वर्षा राउतलाई छन्। जुन कुरा दर्शकलाई थाहै छ।जे होस् रिलिज गरिएको पोस्टरले फणीन्द्र र सम्पदाको परिवार सुखी रहेको अनुभुती हुन्छ।
कलात्मक लाग्ने पोस्टर डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले गरेका हुन्। उसो त ‘महाजात्रा’को पोस्टर र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टकै रहेको छ। अब पोस्टर मात्रै होइन दर्शकले छिट्टै फिल्म पनि हेर्न पाउनेछन्। आगामी चैत्र ९ गतेदेखि फिल्म देशभर प्रदर्शन हुँदैछ।
पैसाको व्यवस्थापन गर्दा आइपर्ने समस्याको कथा बोकेको कमेडी जनराको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय चलचित्रमा अभिनय रहेको छ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्माताको रुपमा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल रहेका छन् भने कार्यकारी निर्मातामा रवीन्द्र सिंह बानियाँ रहेका छन्।