
नेपालगन्ज : प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ प्रदर्शनको तयारीमा छ। आगामी चैत्र ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको टिम यतिबेला प्रचारप्रसारमा जुटेको छ।
प्रचारप्रसारकै लागि ‘महाजात्रा’को टिमले नेपाल टुर पनि गर्दैछ। देशका मुख्य ८ ठुला शहरमा पुगेर ‘महाजात्रा’को टिमले दर्शकसँग साक्षात्कार गर्नेछ। टिमले यसपटक भने कमेडी च्याम्पियनका कलाकारसहितको नेपाल टुर गर्दैछ। ‘महाकमेडी यात्रा’ नाम दिएर ‘महाजात्रा’ टिमले फागुन २१ गतेदेखि पोखराबाट दर्शक भेटघाट कार्यक्रम आरम्भ गर्नेछ।
त्यस्तै फागुन २३ गते बुटवल, फागुन २५ गते धनगढी गरेर ‘महाजात्रा’ टिमको पहिलो चरणको देश दौडाहा पूरा हुनेछ। फागुन ३० गते विर्तामोडबाट पुनः दोस्रो चरणको ‘महाकमेडी यात्रा’ सुरु हुनेछ। चैत्र १ गते इटहरी, चैत्र ३ गते हेटौंडा, चैत्र ४ गते नारायणघाट र चैत्र ६ गते काठमाडौंमा गरेर देशका ८ ठुला शहरमा ‘महाहात्रा’ टिमले दर्शक भेटघाट कार्यक्रम गर्नेछ।
यसै चलचित्रका कलाकार हरिवंश आचार्य, विपिन कार्की, राजाराम पौडेल, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा भ्रमणमा निस्किने छन्। कमेडी च्याम्पियनको टिमबाट अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतीमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन् ।
पैसाको व्यवस्थापन गर्दा आइपर्ने समस्याको कथा बोकेको कमेडी जनराको ‘महाजात्रा’मा निर्माताको रुपमा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल रहेका छन् भने कार्यकारी निर्मातामा रवीन्द्र सिंह बानियाँ रहेका छन्। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रको केही दिन अघि टिजर रिलिज गरिएको थियो। टिजरलाई दर्शकले यतिबेला रुचाइरहेका छन्।
उसो त केही हप्ता अघि रिलिज भएको ‘महाजात्रा’को ‘हाम्रो जोडी’ बोलको गीत गीतलाई पनि दर्शकले उत्तिकै रुचाएका छन्। निर्माण टिमले नेपाल टुर गर्नु अगाडि चलचित्रको ट्रेलर रिलिज गर्नेछ। बुझिए अनुसार आगामी फागुन १८ गते चलचित्रको ट्रेलर रिलिज हुनेछ।
‘जात्रा’, ‘जात्रै जात्रा’ पछि तेस्रो सिक्वेलको रुपमा ‘महाजात्रा’ निर्माण गरिएको हो। अघिल्ला शृङ्खला जस्तै यो शृङ्खलालाई पनि दर्शकले रुचाउनेमा निर्माण टिम निकै आशावादी रहेको छ। चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ।
चलचित्रमा पोस्टर र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्ट(रोयल भिमसेन)को रहेको छ। यो चलचित्रको डिजिटल पब्लिसिटीको जिम्मेवारी अब्बल तरिकाले निभाउनेमा ट्राइडेन्ट टिम निकै तयारीमा रहेको छ।
चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। मित्र डि गुरुङ चलचित्रका सम्पादक हुन्। कविराज गहतराजको चलचित्रमा कोरियोग्राफी रहेको छ भने आशिष् अविरलको संगीत रहेको छ।